नाल्वुमा माघ २५ बाट अन्तर वडा स्तरीय पुरुष तथा महिला फुटबल प्रतियोगिता हुँदै
खगेन्द्र अधिकारी
ताप्लेजुङ,माघ ११ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका वडा नं ६ नाल्बुमा माघ २५ गते देखि अन्तर वडा स्तरीय पुरुष तथा महिला फुटबल प्रतियोगिता हुने भएको छ ।
आयोजक नाल्वु लिम्बू समाजले आइतवार पत्रकारसम्मेलनमार्फत प्रतियोगिता सहितका कार्यक्रम बारे जानकारी गराएको हो । समाजका सचिव योगेन नाल्वोका अनुसार अन्तर वडा स्तरीय पुरुष प्रतियोगिताका बिजेताले तीनबर्षे रनिङ कप,मेडल र प्रमाणपत्रका साथ २ लाख १ हजार १ सय ११ रुपैयाँ पाउने छ । यो पुरस्कारको प्रायोजन स्वर्गीय सुकबहादुर नाल्वो र मनमाया नाल्वोको स्मृतिमा उहाँहरुका परिवारले गर्नु भएको हो । उपबिजेता हुने टिमले तीनबर्षे रनिङ कप,मेडल र प्रमाणपत्रका साथ १ लाख १ हजार १ सय ११ रुपैयाँ पाउने छ । यो पुरस्कार रकमको प्रायोजन स्वर्गीय लालबहादुर नाल्वो,श्रीमति स्वर्गीय तुलामाया नाल्वो,छोराहरु स्वर्गीय दिलबहादुर र मनबहादुर नाल्वोको स्मृतिमा उनीहरुका परिवारले गरिदिएको सचिव नाल्वोले जानकारी दिनुभयो ।
महिला फुटबलतर्फका बिजेताले नगद ५१ हजार १ सय ११ रुपैयाँ र उपबिजेता हुनेले ३१ हजार १ सय ११ रुपैयाँका साथ तीनबर्षे रनिङ कप,मेडल र प्रमाणपत्र पाउने भएका छन् । महिला फुटबलको बिजेता रकम स्वर्गीय सुकबहादुर नाल्वो र मनमाया नाल्वोको स्मृतिमा उनीहरुका परिवारले गरेका हुन् भने उपबिजेताले पाउने पुरस्कार रकम स्वर्गीय लालबहादुर नाल्वो,श्रीमति स्वर्गीय तुलामाया नाल्वो,छोराहरु स्वर्गीय दिलबहादुर र मनबहादुर नाल्वोको स्मृतिमा उनीहरुका परिवारले गरिदिएको आर्थिक सहसंयोजक सजन नाल्वोले जानकारी दिनुभयो । पुरुष फुटबलतर्फ सेमीफाइनल पुग्ने दुई टिमलाई नगद १०–१० हजार रुपैयाँ प्रोत्साहन रकम प्रदान गरिने भएको छ । माघ २५ गते देखि सुरु हुने प्रतियोगिताका साथ लिम्बू समुदायको मौलिक साँस्कृतिक च्याब्रुङ नृत्य प्रतियोगिता समेत सञ्चालन गरिने भएको छ । च्याब्रुङ नृत्यमा प्रथम हुनेले ३० हजार,द्धितीय हुनेले २० हजार र तृतीय हुनेले नगद १० हजार रुपैयाँका साथ मेडल र प्रमाणपत्र पाउने भएका छन् ।
फुटबल प्रतियोगितातर्फ म्यान अफ द म्याच हुनेलाई नगद १ हजार रुपैयाँका साथ प्रमाणपत्र दिइने छ । बिधागततर्फ उत्कृष्ट खेलाडी,सर्वाधिक गोलकर्ता,उत्कृष्ट डिफेण्डर,उत्कृष्ट मिडफिल्डर,उत्कृष्ट गोल किपर र सर्बोत्कृष्ट खेलाडीलाई जनही नगद २ हजार रुपैयाँका साथ ट्रफी,मेडल र प्रमाणपत्र दिइने आयोजक नाल्वो लिम्बू समाजले जानकारी दिएको छ । समाजका अध्यक्ष देउबहादुर लिम्बूले उक्त क्षेत्रमा रहेका पर्यटकीय स्थल,प्राकृतिक तथा मनोरम सुन्दरता बोकेका केन्द्र,स्थानीय धर्म,संस्कार र संस्कृतिको प्रर्वद्धन गर्न खेलकुदलाई माध्यम बनाई अभियान चालिएको जानकारी दिनुभयो । प्रतियोगिता र मौलिक साँस्कृतिक कार्यक्रम सम्पन्न गर्न करिव १२ लाख रुपैयाँ खर्च हुने आयोजकको अनुमान रहेको छ ।
अध्यक्ष लिम्बूका अनुसार स्वर्गीय सुकबहादुर नाल्वोको स्मृतिमा उहाँहरुका परिवारद्धारा निर्मित सुकबहादुर नाल्वो स्मृति खेलमैदानमा कार्यक्रम आयोजना हुने अध्यक्ष लिम्बूले जानकारी दिनुभयो । उहाँले खेलमैदान निर्माण सहित खेलकुद र साँस्कृतिक कार्यक्रम सम्पन्न गर्न सहयोग गर्ने स्वर्गीय सुकबहादुर नाल्वो र मनमाया नाल्वो तथा स्वर्गीय लालबहादुर नाल्वो,श्रीमति स्वर्गीय तुलामाया नाल्वो,छोराहरु स्वर्गीय दिलबहादुर र मनबहादुर नाल्वो परिवारप्रति आभार व्यक्त गर्नु भएको छ ।