जुत्ता चप्पल बनाउने तालिम दिँदै जुत्ता चप्पल उद्योग समेत सञ्चालन गर्ने तयारीमा फक्ताङलुङ
खगेन्द्र अधिकारी
ताप्लेजुङ,मंसिर ७ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले जुत्ता बनाउने सीपमुलक तालिम दिँदै जुत्ता चप्पल उद्योग समेत सञ्चालन गर्ने भएको छ ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मैताहाङ लिम्बूका अनुसार फक्ताङलुङ गाउँपालिकाको स्वामित्वमा रहेको एकीकृत कृषि तथा पशुपन्छी अनुसन्धान केन्द्रको परिसरमा जुत्ता चप्पल उद्योग सञ्चालन गरिने छ । स्थानीय नागरिकलाई सीप प्रदान गरी दक्ष जनशक्ति उत्पादन गर्ने,स्थानीय स्तरमै रोजगारी तथा स्वरोजगारीका अवसर सृजना गर्ने र स्थानीय उत्पादनको प्रर्वद्धन गर्ने ध्येयका लागि पालिकाले जुत्ता बनाउने सीपमुलक तालिम दिँदै जुत्ता चप्पल उद्योग समेत सञ्चालन गर्ने योजना बनाएको पालिका अध्यक्ष राजन लिम्बू(मुक्ति)ले जानकारी दिनुभयो ।
पालिकाका प्रमुख प्रशासकीय अधिकृत लिम्बूका अनुसार १० दिने तालिम अवधिमा पालिकाका ७ वटै वडामा कम्तिमा एकजनाका दरले तालिममा उपस्थित गराई ७ देखि ९ जनालाई यस्तो तालिम दिईने छ । महिला तथा पुरुष दुबैले तालिमका लागि आबेदन दिनसक्ने पालिकाले जनाएको छ । प्रमुख प्रशासकीय अधिकृत लिम्बूका अनुसार तालिम लिन इच्छुक फक्ताङलुङ गाउँपालिकाका स्थायी बासिन्दाले मंसिर २९ गतेसम्ममा पालिकाका रीतपूर्वकको निबेदनसहित आबेदन दिनुपर्ने हुन्छ ।
जुत्ता चप्पल बनाउने तालिम लिनका लागि कम्तिमा कक्षा ८ उर्तीण गरेको हुनुपर्ने,तालिम अवधिभर नियमित उपस्थित भई तालिम पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुपर्ने,तालिम पश्चात प्राप्त सीपलाई स्वरोजगार,उत्पादनमुलक कार्य वा प्रस्तावित जुत्ता चप्पल उद्योगमा उपयोग गर्न इच्छुक हुनुपर्ने समेत पालिकाले सर्त राखेको छ । पालिकाले तालिमबाट प्राप्त जनशक्तिलाई प्रस्तावित जुत्ता चप्पल उद्योगमा आवश्यकता अनुसार प्रयोग गर्ने बताएपनि तालिम लिदैंमा रोजगारी पाइहालिन्छ भन्ने अवस्था भने नरहेको प्रष्ट पारेको छ ।