सडक स्तरोन्नतीपछि मैवाखोलाद्धारा सवारी भाडा समायोजन,बाँकी रहेका सडक चालुबर्षमै स्तरोन्नती गरिने
खगेन्द्र अधिकारी
ताप्लेजुङ,असोज २२ । पालिका भित्रका सडकलाई बर्षभरी सञ्चालनयोग्य बनाउने नीति लिएको ताप्लेजुङको मैवाखोला गाउँपालिकाले सडक स्तरोन्नी भएका क्षेत्रमा यसअघि कायम रहेको यातायात भाडादर समायोजन गरेको छ ।
पालिका अध्यक्ष विजयप्रकाश वनेमले पालिकाले विभिन्न सडकको स्तरोन्नती गरेपछि सडकको सहजताका आधारमा साविक भाडादरलाई समायोजन गरिएको जानकारी दिनु भएको छ । पालिकाले चालु आर्थिक बर्षको नीति,कार्यक्रम र बजेटमार्फत पालिका क्षेत्रमा सडक सञ्जालको बिस्तार,स्तरोन्नती तथा नियमित मर्मतसम्भारका माध्यमबाट पालिकाको सडकमा बर्षैभरी सवारी कुद्ने तहको बनाउने नीति लिएको छ । पालिकाले सडक स्तरोन्नती अन्तरगत सोलिङ गर्नुपर्नेै ठाउँमा सोलिङ गरी तत्पश्चात लोडरले मिलाउने र सडकमा सहज रुपमा सवारी कुद्ने तहको बनाउने अभियान समेत सञ्चालन गर्दै आएको पालिका अध्यक्ष वनेमले बताउनु भएको छ । वनेमका अनुसार सडकमा भएको सुधारसंगै पालिका क्षेत्रका सडकमा यसअघि कायम रहेको भाडादरलाई समयानुकूल समायोजन गरिएको हो ।
समायोजित भाडादर अनुसार मैवाखोला गाउँपालिका वडा नं ३ देखि धरानसम्मको भाडादर बसको हकमा जनही १ हजार २ सय र जीप वा ट्याक्सीमा जनही १ हजार ६ सय कायम गरिएको छ । वडा नं २ देखि धरानसम्म बसमा जनही १ हजार २५० र ट्याक्सीमा १ हजार ७००,वडा नं १ को तेल्लाबुङदेखि बसमा बसमा १ हजार ३०० र ट्याक्सीमा १ हजार ८ सय,वडा नं ४ रिफाइले देखि धरानसम्मको बसको भाडा १ हजार २०० सय र ट्याक्सीको १ हजार ६००,वडा नं ५ को घोडेटार देखि धरानसम्मको बसको भाडा जनही १ हजार ३५० र ट्याक्सीको १ हजार ९०० तथा वडा नं ६ देखि धरानसम्मको बसभाडा १ हजार ३५० र ट्याक्सीको २ हजार रुपैयाँ कायम गरिएको पालिकाले जनाएको छ ।
मैवाखोला गाउँपालिकाको केन्द्र साँघु देखि फुङलिङ बजारसम्मको ट्याक्सी भाडादर जनही ७ सय ५० रुपैयाँ,वडा नं २ देखि ६ सय ५० रुपैयाँ,वडा नं १ देखि ५ सय ५० रुपैयाँ,वडा नं ४ देखि ८ सय ५० रुपैयाँ र वडा नं ५ देखि ७ सय ५० रुपैयाँ,वडा नं ५ को कामसाङदेखि ८ सय रुपैयाँ र वडा नं ६ को रानीवन खुरिक्ला देखि फुङलिङसम्मको जनही ८ सय रुपैयाँ कायम गरिएको पालिकाले जनाएको छ । स्तरोन्नती हुन बाँकी रहेका सडकलाई प्राथमिकतामा राखी स्तरोन्नती गरी बाह्रैकाल सवारी कुद्ने तहको बनाउने पालिकाको योजना रहेको छ । पालिकाले बाँकी रहेका सडक स्तरोन्नती तथा थप मर्मतसम्भारका लागि चालु आर्थिक बर्ष २०८३।८४ को बजेटमार्फत २ करोड ५० लाख ७९ हजार रुपैयाँ बिनियोजन गरेको छ ।