दोभान बजारका अग्नि पीडितलाई जुट्दै राहत, कपन गोन्पाकोतर्फबाट ५ लाख ६० हजार राहत बितरण

खगेन्द्र अधिकारी
ताप्लेजुङ,असोज २२ । ताप्लेजुङको दोभान बजारका अग्नि पीडितका लागि सहयोग रकम जुट्ने क्रम जारी रहेको छ ।

नेपाल बौद्ध महायान केन्द्र गुम्बा(कपन गोन्पा)को सहयोग तथा नेपाल शेर्पा संघ ताप्लेजुङ जिल्ला समन्वय समितिको समन्वयमा बिहीबार दोभान बजारका अग्नि पीडितलाई ५ लाख ६० हजार रुपैयाँ हस्तान्तरण गरिएको छ । नेपाल शेर्पा संघ ताप्लेजुङका अध्यक्ष दावा शेर्पाका अनुसार पालिकाले क्षति अनुसार वर्गिकरण गरेका अग्नि पीडितलाई सोहि अनुसार राहत रकम हस्तान्तरण गरिएको हो । मेरिङदेन गाउँपालिकाले क्षतिका आधारमा १६ अग्नि पीडितलाई तीन तहमा वर्गिकरण गरेको छ । राहत तथा सहयोग रकम बितरण तथा हस्तान्तरणमा सहजताका लागि पालिकाले क्षतिका आधारमा ‘ए’,‘बी’ र ‘सी’ खण्डमा वर्गिकरण गरेको छ । सबैभन्दा बढी क्षति हुने चन्द्र पौडेल र घनश्याम खरेललाई समान ५६ हजार रुपैयाँका दरले राहत रकम बितरण गरिएको छ । उहाँहरु ‘ए’ समूहका हुनुहुन्छ ।

‘बी’ समूहमा रहनु भएका लाक्पाचुङ शेर्पा,यामबहादुर लिम्बू,आङमिङ्मा शेर्पा,सुखवीर लिम्बू,राजेन्द्र पौडेल,श्यामबहादुर लिम्बू,आरती लिम्बू,काँशीनाथ चुडाँल र भीम लोङ्वाले समान ४० हजार रुपैयाँका दरले राहत रकम पाउनु भएको छ । ‘सी’ समूहमा रहेका अनिसा बराईली,सुमन लिम्बू,लाक्पा शेर्पा,अनुष्का आङवुहाङ र योगेन शेर्पाले समान १७ हजार ६ सय रुपैयाँका दरले राहत रकम पाएको नेपाल शेर्पासंघ ताप्लेजुङका अध्यक्ष शेर्पाले जानकारी दिनुभयो । बुधवार ताप्लेजुङ नेवाःसाँस्कृतिक समाज काठमाडौंबाट ७१ हजार ५ सय,मेरिङदेन गाउँपालिका वडा नं ३ खाम्लुङ घर भई हाल हङकङ बस्ने दुर्गा सामेखामबाट १६ हजार र मेरिङदेन गाउँपालिका वडा नं १ थिङलाबु बस्ने हरि ओख्राबुबाट १० हजार रुपैयाँ प्राप्त भई अग्नि पीडितलाई हस्तान्तरण भएको मेरिङदेन गाउँपालिकाका सूचना प्रविधि अधिकृत जीतेन लिम्बूले जानकारी दिनुभयो । असोज १८ गते राष्ट्रिय प्रजातन्त्र पार्टी प्रदेशसभा निर्वाचन क्षेत्र नं १(ख)कोतर्फबाट ५१ हजार रुपैयाँ अग्नि पीडितलाई हस्तान्तरण भएको थियो ।

अग्नि पीडितलाई यसअघि पाथीभरा देवी दर्शन केवलकार प्रालिबाट ५ लाख,नेकपा एमाले ताप्लेजुङ,मेरिङदेन गाउँपालिका कमिटी र राष्ट्रिय युवा संघबाट ४ लाख २१ हजार ११० रुपैयाँ,नेपाल कम्युनिष्ट पार्टीबाट लत्ताकपडा(डसना,सिरक,तन्ना र सिरानी),पाथीभरा सुनचाँदी कला व्यवसायी संघबाट खाद्यान्न सामग्री(चामल,तेल,दाल,नुन,चिनी र साबुन),सत्य साई सेवा संगठनबाट ग्याँस र चुल्हो,जिल्ला विपद् व्यवस्थापन समितिबाट जनही २० हजार रुपैयाँ र स्लिपिङ ब्याग,ताप्लेजुङ उद्योग बाणिज्य संघबाट जनही २ हजार ५ सयसहित खाद्यान्न सामग्री,जिल्ला रेडक्रस सोसाईटीबाट आपतकालिन राहत(भाडा,वर्तन,म्याट कम्बल र मेरिङदेन गाउँपालिकाले आपतकालिन राहत बितरण गरेको छ । गत असोज ८ गते दोभान बजारका भएको आगलागीका कारण ८ घरधनीका १० घर जलेका थिए भने आगलागीबाट करिव १४ करोड ५६ लाख रुपैयाँ बराबरको क्षति भएको थियो ।

 

Similar Posts