नेपाल–तिब्बत सीमा सुरक्षा बैठक ताप्लेजुङमा हुने
खगेन्द्र अधिकारी
ताप्लेजुङ,असोज १७ । नेपालको पूर्वोत्तर क्षेत्रका सुरक्षा अधिकारी र सीमावर्ती तिब्बतको डिङ्जी काउन्टी सरकारका अधिकारीबिचको अन्तर देशीय सीमा सुरक्षा बैठक यसपटक ताप्लेजुङमा हुने भएको छ ।
मंसिर महिनामा ताप्लेजुङको फुङलिङमा बैठक हुनेगरी प्रारम्भिक कार्यसूची तय भएको ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी उमेशकुमार दाहालले जानकारी दिए । बैठकमा नेपालको पूर्वी उत्तरी क्षेत्रतर्फ चीनको स्वशासित क्षेत्र तिब्बतसंग सीमाना जोडिएका ताप्लेजुङ र संखुवासभाका सुरक्षा अधिकारी र तिब्बतको डिङ्जी काउन्टी सरकारका अधिकारी सहभागी हुनेछन् । यसअघिका बैठकहरु तिब्बतको रिउ बजारमा हुने गरेका थिए । कोभिड–१९ महामारीको क्रममा रोकिएको सीमा सुरक्षा बैठक अन्तिम पटक २०८१ साल मंसिर २९ गते तिब्बतको रिउमा सम्पन्न भएको थियो ।
बैठकमा सीमा सुरक्षा,व्यापार प्रवद्र्धन गर्ने तथा अन्य सहयोगसम्बन्धी नेपालका अधिकारीले राखेको प्रस्तावमा तिब्बत सरकार सकारात्मक देखिएको थियो । तिब्बतको छेन्ताङ टाउनस्थित डिङ्जी काउन्टीमा भएको बैठकमा सीमावर्ती क्षेत्रका बासिन्दाका लागि सीमा प्रवेश अनुमतिपत्र,सीमा सुरक्षा र संयुक्त रुपमा सीमा स्तम्भ निरीक्षण गर्ने,सीमामा हुने अवाञ्छित गतिविधि नियन्त्रणमा संयुक्त रुपमा सक्रियता देखाउने विषयमा सहमति भएको थियो भने अवैध चोरी शिकार तथा वन र वन्यजन्तु ओसारपसारको निगरानी गर्ने विषयमा दुवै पक्षका अधिकारीबिच सहमति भएको थियो । (फायल फोटो)