ताप्लेजुङमा वडाले मतदानस्थलको त्रुटी सच्याउने र थपघट सम्वन्धी सिफारिस मंसिर २५ भित्र पठाउनुपर्ने

खगेन्द्र अधिकारी
ताप्लेजुङ,मंसिर ३ । ताप्लेजुङमा रहेका ६१ वटा वडाहरुले मतदान स्थलमा रहेको सामान्य त्रुटी सच्याउने देखि मतदानस्थल थपघट गर्नुपर्ने भए मंसिर २५ गतेसम्ममा जिल्ला मतदान स्थल तथा मतदान केन्द्र सिफारिस समितिमा सिफारिस पठाईसक्नु भएको छ ।

जिल्ला मतदान स्थल तथा मतदान केन्द्र सिफारिस समितिको बैठकले वडा मतदान स्थल तथा मतदान केन्द्र सिफारिस समितिलाई मंसिर २५ गतेसम्ममा आवश्यक सिफारिस पठाइसक्न समयसीमा दिएको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी वान्दवराज (विपिन) दुलालले जानकारी दिनुभयो । आगामी स्थानीय तहको सम्भावित निर्वाचनलाई मध्यनजर गर्दै बसेको पहिलो बैठकले गरेको उक्त निर्णय जिल्लाभरका वडा मतदान स्थल तथा मतदान केन्द्र सिफारिस समितिलाई पठाईएको समेत दुलालले जानकारी दिनुभयो ।

प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहने जिल्ला मतदान स्थल तथा मतदान केन्द्र सिफारिस समितिमा जिल्ला तहमा क्रियाशील राजनीतिक दल प्रमुख तथा प्रतिनिधि,जिल्ला समन्वय अधिकारी,जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरु सदस्य हुनेछन् भने जिल्ला निर्वाचन अधिकारी सदस्य सचिव रहने प्रावधान रहेको छ । समितिमा सम्बन्धित स्थानीय तहका प्रमुखलाई आमन्त्रित सदस्यका रूपमा बैठकमा बोलाउनुपर्ने व्यवस्था रहेको छ । वडा मतदान स्थल तथा मतदान केन्द्र सिफारिस समितिमा वडाध्यक्ष वा वडाध्यक्षको कामकाज गर्ने गरी जिम्मेवारी पाएको व्यक्तिको संयोजकत्वमा समिति रहने छ । समितिमा एक जना महिला वडा सदस्य,वडाभित्र मतदान स्थल रहेका विद्यालय वा संस्थाको प्रमुख वा प्रतिनिधि सदस्य र सम्बन्धित वडाको वडासचिव सदस्य सचिव रहने व्यवस्था रहेको छ ।

मतदानस्थल हटाउने,थप्ने,सार्ने वा गाभ्ने कार्यको सिफारिस वडा समितिले गरेमा सारिएको मतदानस्थलमा रहने मतदाता नामावली छुट्याई एकिन तथा अद्यावधिक सहितको सिफारिस गर्ने जिम्मेवारी समेत वडा समितिलाई रहने छ । समितिले वडाभित्रका मतदान स्थल तथा मतदान केन्द्रको अध्ययन अवलोकन गर्ने,मतदान स्थल तथा मतदान केन्द्रमा मतदान गर्ने मतदाताहरूको पहिचान गर्ने,मतदान स्थल तथा मतदान केन्द्र निर्धारण गर्ने सम्बन्धमा दल,स्थानीय तह र अन्य सरोकारवालासँग समन्वय गर्ने जिम्मेवारी समेत हुने छ । यसबाहेक समितिले वडाभित्रका मतदान स्थल तथा मतदान केन्द्रको नाम र विवरणमा रहेको त्रुटी सच्याउनुपर्ने भएमा वा वडाभित्र नयाँ मतदान स्थल थप गर्नुपर्ने भएमा वा साविकमा रहेका मतदानस्थल हटाउनुपर्ने वा गाभ्नुपर्ने भएमा वा एक मतदान स्थलमा रहेका मतदातालाई अर्को मतदान स्थलमा सार्नुपर्ने भएमा कारण खुलाई प्रमाण संलग्न गरी जिल्ला मतदान स्थल तथा मतदान केन्द्र सिफारिस समिति समक्ष सिफारिस गर्नुपर्ने छ ।

२०८२ साल फागुन २१ गतेको निर्वाचनका क्रममा ताप्लेजुङमा ५ मतदानस्थल थप भएका थिए । यसोगर्दा अहिले ताप्लेजुङमा ८० मतदान स्थल र १ सय २७ मतदान केन्द्र रहेका छन् । वडा मतदानस्थल तथा मतदान केन्द्र सिफारिस समितिले आवश्यक प्रकृया पूरा गरी मतदान स्थलमा रहेको त्रुटी सच्याउने देखि मतदान स्थल थपघटसम्मको निर्णय गरी जिल्ला स्तरीय समितिमा गरेको सिफारिसका आधारमा प्रकृया र अवस्था मनासिफ देखिए जिल्ला समितिले निर्वाचन आयोगमा सिफारिस गर्न सक्ने छ । ९ स्थानीय तह रहेको ताप्लेजुङमा २०८३ साल भदौ १५ गतेसम्ममा ताप्लेजुङमा मताधिकार प्राप्त मतदाताको संख्या ८९ हजार ७ सय रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । त्यसमध्ये पुरुगा ४८ हजार ४८ र महिला ४१ हजार ६ सय ५२ रहेका छन् । २०८३ साल भदौ १५ पछि जिल्ला निर्वाचन कार्यालयले मृत्यु भएका ९ सय ४८ जना मतदाताको नामावली हटाई अद्यावधिक गरेको जनाएको छ ।

Similar Posts