नेपाली काँग्रेस अधिबेशन : २६ महाधिबेशन प्रतिनिधि र प्रदेशसभा १(क)को सभापतिका लागि मतदान जारी
खगेन्द्र अधिकारी
ताप्लेजुङ,असोज १४ । सहमतिका केहिदिनका प्रयास असफल भएपछि नेपाली काँग्रेस ताप्लेजुङबाट चयन हुनुपर्ने महाधिबेशन प्रतिनिधि र प्रदेशसभा १(क)को सभापतिका लागि मतदान चलिरहेको छ ।
३३ महाधिबेशन प्रतिनिधिमध्ये ७ जना निर्विरोध हुँदा २६ जना महाधिबेशन प्रतिनिधिका लागि मतदान भइरहेको निर्वाचन अधिकृत शिवराज पोखरेलले जानकारी दिनुभयो । केन्द्रीय सदस्य लिलादेवी बोखिम,कोशी प्रदेशसभा सदस्य तथा कोशी सरकारका पूर्व मन्त्री खगेनसिं हाङगाम र कोशी प्रदेश समिति सदस्य इन्द्र केदेमसहितले पहिलो मतदान गर्दै मतदान कार्यको शुभारम्भ गर्नु भएको छ ।
निर्वाचन अधिकृत पोखरेलका अनुसार क्षेत्र नं १(क)मा ७ सय ७५ जना र क्षेत्र नं १(ख)मा ६ सय ५४ गरी कुल १ हजार ४ सय २९ जना क्षेत्रीय प्रतिनिधिले २३ महाधिबेशन प्रतिनिधि र प्रदेशसभा १(क)को सभापतिका लागि मतदान गर्नेछन् । प्रदेशसभा १(क)को सभापतिका लागि नेपाली काँग्रेस प्रदेशसभा १(क) का निवर्तमान उपसभापति गणेश खिम्दिङ र सिरिजङ्गा गाउँपालिका अध्यक्ष तथा सिरिजङ्गा गाउँपालिका कमिटीका निवर्तमान सभापति लालकृष्ण चौहान प्रतिश्पर्धामा रहनु भएको छ ।
क्षेत्रीय प्रतिनिधिले ४ जना महिला,१० जना खुल्ला,एकजना पेशागत बिषयविज्ञ,एकजना खस आर्य खुल्ला र एकजना खस आर्य महिला,४ जना आदिवासी जनजाति खुल्ला,३५ बर्ष मुनिका युवा समूह खुल्लातर्फ २ र महिलातर्फ १ गरी तीन,एकजना श्रमिक र एकजना प्रजातन्त्र सेनानी,शहीद परिवार र द्धन्दप्रभावितलाई मतदान गर्नेछन् ।