मैवाखोलाले बनायो सार्वजनिक–निजी साझेदारी तथा लगानी बिधयेकको मस्यौदा,मागियो राय सुझाव

खगेन्द्र अधिकारी
ताप्लेजुङ,माघ १ । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले सार्वजनिक–निजी साझेदारी तथा लगानी बिधयेकको मस्यौदा तयार पारी सरोकारवालासंग मस्यौदामा राय सुझाव माग गरेको छ ।

पूर्वाधार संरचना तथा सेवा क्षेत्रका कुनैपनि परियोजना सार्वजनिक–निजी साझेदारी लगानीबाट सम्पन्न गराउन प्रोत्साहित गर्ने उद्देश्यले तयार भएको बिधयेकको मस्यौदा माथि पालिकाले माघ ५ गते भित्र सरोकारवालाको राय सुझाव दिन आग्रह गरेको हो । पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीमाया गोम्देनका अनुसार सुझाव दिनेहरुले मैवाखोला गाउँपालिकाको आधिकारिक इमेल ठेगाना maiwakholarm@gmail.com वा सूचना अधिकृतको ह्वाट्सएप नम्बर ९८४२४१५२९३ मा सुझाव पठाउन सक्नेछन् । पालिका क्षेत्रभित्र स्थानीय प्राकृतिक श्रोतको उपयोग गर्दै स्वदेशी तथा बिदेशी निजी क्षेत्र समेतको लगानीका माध्यमबाट नवीन प्रविधि,गुणस्तरीय सेवा,व्यवस्थापकीय कुशलता एवम् लगानीमैत्री वातावरण निर्माण गर्दै गाउँपालिकाको आर्थिक विकास र समृद्धिमा योगदान पुर्‍याउन,सार्वजनिक–निजी साझेदारीमा निर्माण हुने परियोजनालाई व्यवस्थित गर्न तथा लगानी सम्वन्धी कानुनी व्यवस्थालाई स्पष्ट गर्न उपयुक्त देखेको भन्दै पालिकाले सार्वजनिक–निजी साझेदारी अभियान अघि सारेको जनाएको छ ।

तयार पारेको सार्वजनिक–निजी साझेदारी तथा लगानी बिधयेकको मस्यौदा अनुसार निर्माण तथा हस्तान्तरण,निर्माण सञ्चालन तथा हस्तान्तरण,निर्माण,स्वामित्वकरण सञ्चालन,लिज सञ्चालन तथा हस्तान्तरण सहितका १० वटा क्षेत्रका माध्यमबाट परियोजना कार्यान्वयन गर्न सकिने तरिका उल्लेख गरिएको छ । पालिकाले गाउँपालिका र लगानीकर्ताबिच श्रोत वा प्रतिफल बाँडफाँड तथा जोखिम व्यहोर्ने गरी आपसी सहकार्यमा पूर्वाधार संरचना निर्माण,सञ्चालन,पुर्नस्थापना वा सार्वजनिक सेवा प्रवाह गर्न परियोजना कार्यान्वयन गर्ने प्रवन्धलाई सार्वजनिक–निजी साझेदारी भनेको छ । पालिकाले संघीय कानुनको सार्वजनिक–निजी साझेदारी तथा लगानी विधयेक २०७५ को अधिनमा रही बिधयेकको मस्यौदा तयार पारी सरोकारवालासंग राय सुझाव माग गरेको हो । प्राप्त राय सुझाव र प्रचलित कानुनको अधिनमा रही बिधयेकको मस्यौदालाई अन्तिम रुप दिने पालिकाको तयारी रहेको छ । पालिकाले पुर्नस्थापना कार्यक्रमको रुपमा मौजुदा संरचनाको मर्मत,बिस्तार वा पुर्ननिर्माण गरी पुर्नस्थापना गर्ने कार्यलाई औंल्याएको छ ।

पूर्वाधारको रुपमा अस्पताल,केवलकार,बसपार्क,प्रर्दशनीस्थल,पार्क,सञ्चार तथा सूचना प्रविधि,स्थानीय मझौला उद्योग,कृषि,शिक्षा,होटल र रेष्टुरेन्टलाई परिभाषित गरेको छ । यस्तै पर्यटन क्षेत्र,होमस्टे,सवारी पार्किङ,जलाशय,फोहोरमैला प्रशोधन तथा व्यवस्थापन,ढुङ्गा,गिटी र बालुवा उत्खनन् संकलन तथा प्रशोधन(क्रसर),वन पैदावार संकलन तथा प्रशोधन,उर्जा उत्पादन,प्रसारण तथा बितरण,रंगशाला,सार्वजनिक सभागृह,बहुउद्देश्यीय भवन(मेघा हल),सार्वजनिक गोदाम घर र शीत भण्डार सम्वन्धीका कार्य हुने पालिकाले उल्लेख गरेको छ । सार्वजनिक–निजी साझेदारीबाट कार्यान्वयन गरिने परियोजनाको प्राथमिकता क्षेत्र निर्धारणका लागि समिति बन्ने समेत बिधयेकमा उल्लेख गरिएको छ । प्राथमिकता क्षेत्र निर्धारण समितिले कार्यान्वयन गर्न सकिने परियोजनाको निर्धारण गरी सूची तयार गर्ने काम गर्ने छ भने सूची निर्धारण गर्दा प्राविधिक तथा वित्तीय बिषयमा बोर्डसंग परार्मश गर्नु अनिवार्य हुनेगरीको मस्यौदा तयार भएको छ ।

मस्यौदा अनुसार पालिका अध्यक्षको संयोजकत्वमा उपाध्यक्ष,प्रमुख प्रशासकीय अधिकृत,सम्वन्धित वडाको वडाध्यक्ष,अध्यक्षले तोकेको निजी क्षेत्रको एकजना विज्ञ,पालिका अध्यक्षले तोकेको एक महिला सहित दुईजना कार्यपालिका सदस्य र अध्यक्षले तोकेको एकजना विज्ञ सदस्य रहनेगरी सार्वजनिक–निजी साझेदारी व्यवस्थापन समिति गठन गर्ने मस्यौदामा उल्लेख छ । यो समितिको सदस्य सचिवमा पालिकाको सार्वजनिक–निजी साझेदारी ईकाई प्रमुख सदस्य सचिव रहनेछन् । मस्यौदामा कम्तिमा एक करोड भन्दा बढी लागत भएका परियोजनाहरु निजी क्षेत्रको लगानीबाट निर्माण,सञ्चालन र व्यवस्थापन गर्न सकिने उल्लेख गरिएको छ ।

Similar Posts