तीन जिल्लाका प्रहरी प्रमुखहरुको भर्चुअल बैठक,विपद् व्यवस्थापन र अपराध नियन्त्रणमा सहकार्य गरिने
खगेन्द्र अधिकारी
ताप्लेजुङ,असोज १३ । ताप्लेजुङ,पाँचथर र तेह्रथुम जिल्ला प्रहरी प्रमुखहरुको भर्चुअल बैठक अन्तर जिल्ला समन्वयलाई थप प्रभावकारी बनाउने तथा अपराध अनुसन्धानमा सहकार्य गर्ने निश्कर्षमा सकिएको छ ।
ताप्लेजुङका प्रहरी प्रमुख(डिएसपी)कमल बजगाइँले भर्चुअल बैठकमा पछिल्लो समय देखिएको मनसुनजन्य विपद् तथा त्यसबाट उत्पन्न प्रभावका विषयमा समेत छलफल भएको जानकारी दिनुभयो । बजगाइँका अनुसार अन्तरजिल्ला अपराध नियन्त्रण,सूचना आदान–प्रदान,अपराध अनुसन्धानमा सहकार्य,फरार प्रतिवादीको खोजतलास तथा पक्राउ,शान्ति सुरक्षा व्यवस्थापन एवं प्रहरी कार्यसम्पादनसँग सम्बन्धित समसामयिक विषयमा छलफल भएको छ ।
‘तीनै जिल्लाका प्रहरी कार्यालयले सापेक्ष र अन्तर सम्वन्धित सवालहरु र शान्ति सुरक्षाको पूर्ण प्रत्याभूत हुनेगरी अपराधसहित समाज निर्माणका लागि सहकार्य गर्ने निश्कर्षमा पुगेका छौं’डिएसपी बजगाइँले भन्नुभयो । ताप्लेजुङ,पाँचथर र तेह्रथुम एकआपसमा छिमेकी जिल्ला हुन् । तीनवटै जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षकहरूको सहभागिता रहेको बैठकमा अन्तरजिल्ला समन्वयलाई थप प्रभावकारी बनाउँदै विपद् व्यवस्थापन,अपराध नियन्त्रण तथा शान्ति सुरक्षा कायम गर्न आपसी सहयोग,सहकार्य र सूचनाको प्रभावकारी आदान–प्रदानलाई निरन्तरता दिने विषयमा जोड दिइएको बजगाइँले जानकारी दिनुभयो ।