पथरी शनिश्चरे गोल्डकपको सफलताको कामनासहित खेलकुद सामग्रीको पाथीभरा मन्दिरमा पूजा अर्चना
खगेन्द्र अधिकारी
ताप्लेजुङ,असोज १३ । असोज १८ गतेदेखि मोरङमा हुने तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रण पथरी शनिश्चरे गोल्डकप–२०८३ का खेलकुद सामग्री ताप्लेजुङस्थित पाथीभरा मन्दिरमा ल्याई पूजा अर्चना गरिएको छ ।
खेलकुदलाई धार्मिक पर्यटनसंग जोड्ने मुख्य उद्देश्यका साथ गोल्डकप सञ्चालन समितिको टोलीले खेलकुदमा प्रयोग हुने सामग्री मन्दिरमा ल्याएर पूजा अर्चना पछि लिएर गएको पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतले जानकारी दिनुभयो । पाथीभरा मन्दिरमा आएको टोलीले खेलकुदका सामग्री पूजा अर्चना गर्नुका साथै प्रतियोगिताको भव्य सफलताको कामना गरी फर्किएको महतले जानकारी दिनुभयो । पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङले पाथीभराको महिमा र गरिमा श्रीबृद्धिका साथै मन्दिर क्षेत्रको अवलोकनका लागि यस्ता कार्यहरुले थप महत्व जागृत गर्ने बताउनुभयो ।
पछिल्ला दिनहरुमा खेलकुदका गतिविधिलाई पर्यटनसंग जोड्ने लक्ष्यका साथ धार्मिक,ऐतिहाँसिक तथा प्राकृतिक सम्पदा भएका क्षेत्रमा पुगी खेलकुदका सामग्रीको प्रर्दशनी गर्ने गरिएको छ । तेस्रो ताप्लेजुङ गोल्डकपका क्रमका आयोजक लाखेजात्रा सञ्चालन समितिले गोल्डकपको खेल तालिका पाथीभरा मन्दिर क्षेत्रबाटै सार्वजनिक गरेको थियो । यसबर्ष ताप्लेजुङको उत्तरी हिमाली क्षेत्रका प्रमुख पर्यटकीय स्थलहरु स्याम्दो पोखरी,सिङ्जेमा ताल,लोदेन क्षेत्र र ऐतिहाँसिक दिकी छ्योलिङग गुम्बा पुगी आयोजक लाखेजात्रा सञ्चालन समितिले चौथो ताप्लेजुङ गोल्डकपको खेल तालिका सार्वजनिक गरेको थियो भने हिमाल छुवाएर ल्याएका बल खेलकुदको क्रममा प्रयोग गरेको थियो ।