मासिक तलव पछि अब शिक्षककै व्यक्तिगत खातामा तलव पठाउने आठराई त्रिबेणीको तयारी
खगेन्द्र अधिकारी
ताप्लेजुङ,असार ८ । ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिकाले अब शिक्षकहरुको मासिक तलव सम्वन्धित व्यक्तिकै खातामा पठाउने तयारी थालेको छ ।
शिक्षकको तलव मासिक रुपमै निकासा गर्दै आएको पालिकाले अब प्रत्येक शिक्षकको तलव मासिक रुपमा सम्वन्धित व्यत्तिकै खातामा पठाउने तयारी गरिरहेको जनाएको छ । आठराई त्रिबेणी गाउँपालिकाका अध्यक्ष दीपेन्द्र पोमू(दीपेन)ले यो व्यवस्था आगामी आर्थिक बर्ष २०८३।८४ बाट कार्यान्वयनमा आउने बताउनुभयो । आठराई त्रिबेणी गाउँपालिकाले आयोजना गरेको सार्वजनिक सुनुवाईका क्रममा वडा नं ५ मा आयोजित कार्यक्रममा पालिका अध्यक्ष पोमूले बिद्यालयले ट्युसन र कोचिङ पढाउने बहानामा शुल्क लिए सम्वन्धित बिद्यालय कारवाहीको दाहेरामा आउने सुनाउनुभयो ।
अध्यक्ष पोमूका अनुसार पालिकाले पालिकाभरीका बिद्यालयलाई शिक्षक,बिद्यार्थी र आन्तरिक आय सहितलाई हेरेर बार्षिक रुपमा प्रशासनिक अनुदान उपलब्ध गराउँदै आएको छ । शिक्षा अधिकृत हेमराज राई(हेमन्त)का अनुुसार पालिका भरीमा ३३ वटा बिद्यालय रहेका छन् । पालिकाका प्रमुख प्रशासकीय अधिकृत अजय राजवंशीलेसबै बिद्यालयका शिक्षकको तलव मासिक रुपमै सम्वन्धित बिद्यालयको खातामा निकासा भईसकेको बताउनुभयो । जेठ महिनाको तलव निकासाका सन्र्दभमा लेखापाल परिवर्तन सहितका समस्याले केहि समस्या भएपनि अहिले त्यो समस्या समाधान भइसकेको राजवंशीले जानकारी दिनुभयो ।
पालिका अध्यक्ष पोमूले बिद्यालयले नतिजा राम्रो आउनेगरी काम गर्नुपर्नेमा जोड दिदैं नतिजा सु्धारका लागि प्रभावकारी शिक्षण सिकाई आवश्यक रहेको बताउनुभयो । आठराई त्रिबेणी गाउँपालिकाले मासिक रुपमा पालिकाका सबै बिद्यालयका प्रधानाध्यापकहरुको नियमित बैठक समेत गर्दै आएको छ । प्रधानाध्यापक बैठकमा जानुपूर्व शिक्षकहरुको आन्तरिक बैठक बसी पहिचान भएका समस्या पालिका स्तरीय बैठकमा पेश गर्नुपर्ने प्रावधान आठराई त्रिबेणीले कार्यान्वयन गर्दै आइरहेको छ ।
पालिकाले पालिकाभरीका बिद्यालय र स्वास्थ्य संस्था सहितलाई बार्षिक रुपमा मसलन्द खर्च वापत रकम उपलब्ध गराउँदै आएको पालिका अध्यक्ष पोमूले जानकारी दिनुभयो । स्वास्थ्य संस्था वरिपरिको वातावरण सफा,हरियाली र सेवाग्राहीमैत्री बनाउन सम्वन्धित स्वास्थ्य संस्थाले ध्यान दिनुपर्ने समेत पोमूले जानकारी दिए । हरेक सार्वजनिक निकायको नतिजा सुधारका लागि आफुहरुले पहल गरिरहेको बताउँदै पालिका अध्यक्ष पोमूले प्रभावकारी कार्य सम्पादनका लागि स्रोतको अभाव हुन नदिन पालिकाले उचित योजना बनाउने बताउनुभयो ।