दुई तोलाको सिक्री र नगद चोरी गरेको आरोपमा पक्राउ
-उज्यालो पोष्ट
ताप्लेजुङ, भदौ ५ । प्रहरीले सुनको गहाना र नगद चोरी गरेको आरोपमा एक व्यक्तिलाई पक्राउ गरेको छ । ताप्लेजुङको सिरिजंघा गाउँपालिका–४ का २७ वर्षीय मनकुमार थापालाई सुनको गहाना (सिक्री) र नगद चोरी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक विन्देश्वर यादवका अनुसार जिल्लाकै सिदिङ्वा गाउँपालिका–४ साब्लाखुका नवीन राईको घरबाट सुनको गहाना र नगद चोरी गरेको आरोपमा थापा पक्राउ परेका हुन् । राईको घरको ढोका तोडफोड गरी थापाले दुई तोलाको सुनको सिक्री र ७० हजार रुपियाँ नगद चोरी गरेको आरोप छ ।
गएको सोमबार साँझको समयमा सुनको सिक्री र नगद चोरी भएको भन्ने खबर भएपछि तत्काल जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकी साब्लाखुबाट प्रहरी टोली खटिएको थियो । चोरी घटनामा संलग्नको खोजी गर्ने क्रममा आरोपित थापा झापाको अर्जुनधारा नगरपालिका–११ बसपार्क क्षेत्रमा लुकीछिपी बसेको अवस्थामा पक्राउ परेका प्रहरी निरीक्षक यादवले जानकारी दिनुभयो ।
उहाँका अनुसार चोरी धटनामा संलगन भई झापाको विर्तामोडमा पुगेको भन्ने सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय अनारमनीसँग समन्वय गरेर थापालाई पक्राउ गरिएको हो । पक्राउ परेका थापालई बिहीबार ताप्लेजुङ ल्याई पु¥याई जिल्ला अदालतबाट सात दिनको म्याद लिएर चोरी घटनाका सम्बन्धमा थप अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार मुलुकी फौजदारी कार्यविधि संहिताबमोजिम थापामाथि चोरीसम्बन्धी कसुरमा अनुसन्धानको प्रक्रिया अघि बढाइएको छ । यता थापाको साथबाट चोरी भएको सुन सिक्री र नगद बरामद भएकोसमेत जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।