मन्त्री हाङगामद्धारा तेम्बाका आगलागी पीडितलाई राहत प्रदान,इन्द्रबहादुर फाउण्डेसनले दियो न्यानो कपडा

खगेन्द्र अधिकारी
ताप्लेजुङ,मंसिर ८ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका वडा नं ४ साँवाको तेम्बाका आगलागी पीडितलाई कोशी प्रदेश सरकारका उद्योग,कृषि तथा सहकारीमन्त्री खगेनसिं हाङगामले प्रति परिवार ६ हजार रुपैयाँका दरले राहत सहयोग गर्नु भएको छ ।

स्थानीय इन्द्रबहादुर साँवा फाउण्डेसनले पीडित परिवारलाई न्यानो कपडा प्रदान गरेको छ । फुङफुङ्गे झरनाको काख तेम्बामा सुरु भएको फङ्फङदेन झरना पर्यटन तथा साँस्कृतिक मेलाको उद्घाटनका लागि तेम्बा पुग्नु भएका मन्त्री हाङगामले आगलागी पीडित ६ घर परिवारलाई ६ हजार रुपैयाँका दरले राहत बितरण गर्नु भएको हो । मन्त्री हाङगामका स्वकीय सचिव अशोक आङवुहाङका अनुसार आगलागी पीडित राजकुमार साँवा,अनिल साँवा,इन्द्रकुमार साँवा,बिष्णु साँवा,पासाङफुटी शेर्पा र दोर्ची शेर्पालाई उक्त राहत रकम हस्तान्तरण गरिएको छ । यता इन्द्रबहादुर साँवा फाउण्डेसनले आगलागी पीडित प्रत्येक परिवारलाई ब्लाङकेट सहितका न्यानो कपडा प्रदान गरेको इन्द्रबहादुरका छोरा हर्कबहादुरले जानकारी दिनुभयो ।

यही मंसिर २ गते राति तेम्बा बजारमा भएको आगलागीले ४ घर जलेर खरानी भएको थियो भने त्यहाँ रहेका ६ घर परिवार बिस्थापित भएका छन् । अलैंची सहितका सामग्री जलेर खरानी हुँदा त्यहाँ करिव १ करोड १९ लाख रुपैयाँ बराबर क्षति भएको विवरण संकलन भएको छ । यसैबिच फङ्फङदेन झरना पर्यटन विकास समितिले तेम्बामा सुरु भएको फङ्फङदेन झरना पर्यटन तथा साँस्कृतिक मेलास्थलमा आगलागी पीडितहरुको सहयोगार्थ दान पेटिका राखेको छ । कोशी सरकारका मन्त्री हाङगामले दान पेटिकामा सहयोग रकम दिएसंगै सहयोग गर्नेहरुका लागि दान पेटिका खुल्ला गरिएको फङ्फङदेन झरना पर्यटन विकास समितिका कार्यवाहक अध्यक्ष नुपुछिरिङ शेर्पाले जानकारी दिनुभयो ।

Similar Posts