ताप्लेजुङ गोल्डकपको खेल तालिका सार्वजनिक,पहिलो खेलमा आयोजकको भीडन्त भारतको जर्जियन एफसीसंग

खगेन्द्र अधिकारी
ताप्लेजुङ,भदौ ४ । ताप्लेजुङको फुङलिङमा भदौ १२ देखि सुरु हुने चौथो अन्तराष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकपको खेल तालिका सार्वजनिक भएको छ ।

आयोजक लाखेजात्रा सञ्चालन समितिले ताप्लेजुङको उत्तरी क्षेत्रमा स्याम्दो पोखरी,सिङजेमा ताल र दिकी छ्योलिङ गुम्बा पुगेर खेल तालिका सार्वजनिक गरेको हो । ८ टीम सहभागी हुने पहिलो खेलमा भदौ १२ गते समूह ‘ए’रहेका आयोजक ताप्लेजुङ–११ र भारतको जर्जियन युनाईटेड फुटबल क्लवबिच प्रतिश्पर्धा हुने आयोजक लाखेजात्रा सञ्चालन समितिका अध्यक्ष सागर मादेनले जानकारी दिनुभयो । भदौ १३ गते हुने दोस्रो खेलमा समूह ‘बी’को चित्लाङ फुटबल क्लव र पाँचथरको फिदिम स्पोर्टिङ क्लव आमने–सामने हुनेछन् । भदौ १४ गते हुने तेस्रो खेलमा समूह ‘ए’मा रहेको सातदोबाटो फुटबल क्लवले तेस्रो ताप्लेजुङ गोल्डकपको डिफेण्डिङ च्याम्पियन सलहेश युवा क्लवको सामना गर्ने छ । भदौ १५ गते समूह ‘बी’मा रहेको विभागीय फुटबल क्लव पुलिस क्लवले झापा–११ फुटबल क्लवसंग क्वाटर फाइनलको अन्तिम खेल खेल्दै पहिलो चरणको खेल समाप्त गर्ने छ ।

भदौ १६ गते हुने पहिलो सेमीफाईनल खेलमा समूह ए’मा मा रहेका ताप्लेजुङ–११ र जर्जियन युनाईटेड फुटबल क्लवको बिजेता र सातदोबाटो फुटबल क्लव तथा सलहेश युवा क्लवको बिजेताबिच फाइनल यात्राका लागि भिडन्त हुने छ । दोस्रो सेमीफाईनलमा भदौ १७ गते समूह ‘बी’ मा रहेका चित्लाङ फुटबल क्लव र फिदिम स्पोर्टिङ क्लवको बिजेता र झापा–११ तथा नेपाल पुलिस क्लवबिचको बिजेताबिच भीडन्त हुने छ । भदौ १८ गते एकदिन खेलाडीलाई खेलको तयारीका लागि बिश्राम दिएर १९ गते फाईनल खेल हुने आयोजक लाखेजात्रा सञ्चालन समितिले जनाएको छ । यसबर्षको बिजेताले ७ लाख २ हजार ८३ रुपैयाँ तथा उपबिजेताले ३ लाख ५२ हजार ८३ रुपैयाँ नगदसहित ट्रफी,मेडल र प्रमाणपत्र पाउने भएका छन् । सर्बोत्कृष्ट खेलाडीले बजाज कम्पनीको एकथान मोटरसाईकल पुरस्कार पाउँदैछन् । हरेक दिनका म्यान अफ द म्याच बन्ने खेलाडीलाई ७ हजार रुपैयाँ मूल्य बराबरको अलैंची प्रदान गरिने छ ।

नेपाल भरमै सबैभन्दा धेरै अलैंची उत्पादन गर्ने जिल्लाको रुपमा परिचित ताप्लेजुङको कृषिजन्य उत्पादनको प्रर्वद्धनका लागि अलैंची नै पुरस्कार स्वरुप प्रदान गर्न लागिएको हो । करिव ६० हजार मूल्य बराबरको अलैंचीको सौजन्य फङ्फङदेन पर्यटन विकास समितिका अध्यक्ष विजय साँवा लिम्बूले गर्नु भएको छ । उहाँ संयोजक भई गत मंसिर महिनामा सञ्चालन भएको फङ्फङदेन झरना पर्यटन महोत्सवका बेला प्रतियोगिताका बिजेता,उपबिजेता,म्यान अफ द म्याच र बिधागततर्फका बिजेता सबैले बिजेताले पाउने रकम बराबरको अलैंची पुरस्कार पाउनु भएको थियो ।

Similar Posts