पाथीभरा केवलकार खारेजीको माग गर्दै ‘नो केवलकार’पक्ष फेरि आन्दोलित,माघ मसान्तसम्मका कार्यक्रम घोषणा
उज्यालो पोष्ट
ताप्लेजुङ,पुस १८ । पाथीभरा क्षेत्रमा केवलकार बन्न नहुने पक्ष फेरि आन्दोलित भएका छन् । शुक्रवार ताप्लेजुङको फुङलिङ र ललितपुरको किराँत याक्थुङ चुम्लुङ हिममा एकसाथ पत्रकार सम्मेलनमार्फत ‘नो केवलकार’पक्षले आन्दोलनको घोषणा गरेका हुन् ।
फुङलिङमा आयोजित पत्रकार सम्मेलनमा ‘नो केवलकार’पक्षधर घटकहरुको उपस्थितिमा केवलकार खारेजी संयुक्त संघर्ष समितिका अध्यक्ष खगेन्द्र फेम्बु लिम्बूले मन्त्रिपरिषद् स्तरीय निर्णयबाट केवलकार खारेजीको निर्णय नै सहमतिको अन्तिम विकल्प भएको बताउनुभयो ।‘स्थान तल माथि र यताउता गरेर केवलकार बन्ने छैन’फेम्बुले पत्रकार सम्मेलनमा भन्नुभयो । उहाँले आन्दोलनरत घटकका कसैले स्थान यताउता गरेर बनाउने बिषय राखेको भए त्यो व्यक्तिगत बिचार हुने तर संस्थागत बिचार भनेको केवलकार खारेजी नै रहेको बताउनुभयो । अहिलेको सरकारबाट केवलकार खारेजीको निर्णय हुनेमा विश्वस्त रहेकोमा त्यो नभएको भन्दै उहाँले सरकारले दमन गरेर अघि बढ्न खोजे आन्दोलन थप सशक्त बनाउनुको विकल्प नहुने बताउनुभयो ।
‘दमन पहिलेपनि भएको हो,चरम दमन भएको हो’आन्दोलन रोकिदैंन,थप सशक्त हुन्छ’फेम्बोले भन्नुभयो । केवलकार निर्माणको बिरोध गरिरहेका महेन्द्र लावती र केवलकार निर्माण कम्पनी पाथीभरा(मुक्कुमलुङ)दर्शन केवलकार प्रालिका अध्यक्ष चन्द्र ढकालका छोरा सचिन राष्ट्रिय स्वतन्त्र पार्टीबाट समानुपातिक सूचीमा परेको बिषयमा पत्रकारले धारणा माग गरेका थिए । यसको प्रत्युत्तरमा उज्यालो नेपाल पार्टीमा आवद्ध कीर्तिमान मादेनले आफुहरु पनि अलमल परेको बताउनुभयो ।‘एकीकरणको सल्लाह नै थिएन,रातारात के भयो‘राश्वपा र उज्यालो नोपल पार्टीको एकीकरण र समानुपातिक सूची बारे मादेनले भन्नुभयो‘केवलकारको खारेजीको माग गर्ने र बनाउने मालिक एकैठाउँ बस्न सकिदैंन,यसबारे गम्भिर निर्णय हुन्छ’ । पाथीभरामा बनाईदैं आएको केवलकार निर्माणका प्रमुख लगानीकर्ता नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष ढकाल हुनुहुन्छ । उहाँले यो बिषयमा माथिल्लो तहबाट निश्कर्षमा पुग्नेगरी छलफल भइरहेको दावी गर्नुभयो ।
‘नो केवलकार’पक्षले पत्रकार सम्मेलनबाटै आन्दोलनको सुरुवात भएको बताएको छ । आन्दोलन अन्तरगत पुस २२ गते देखि ताप्लेजुङका सबै स्थानहरु सहित बिभिन्न जिल्लामा गाउँघर भेला तथा छलफल कार्यक्रम हुने घोषणा गरिएको छ । यस्तै माघ १२ गते पूर्वी नेपालका सबै जिल्ला तथा मुख्य बजारहरुमा कोणसभा गर्ने,माघ १६ गते फुङलिङमा जनप्रर्दशन र कोणसभा गर्ने,१७ गते ‘नो केवलकार’ आन्दोलनका क्रममा घाइते भएकालाई सम्मान गर्ने,१८ गते पाथीभराको कान्छीथान देखि मन्दिरसम्म धागो टाँङ्ने कार्यक्रम तय भएको छ ।
१९ गते पाथीभरा(मुक्कुमलुङ)क्षेत्रमा प्रर्दशन र कोणसभा गर्ने र २० गते देखि माघ मसान्तसम्म पाथीभरा केवलकार र पाथीभरा क्षेत्र विकास समिति गठन आदेश खारेजी,मुक्कुमलुङ संरक्षणका क्रममा भएको आन्दोलनमा लगाईएका मुद्दा खारेजी सहितका बिषयलाई निर्वाचनको एजेण्डा बनाएर गाउँबस्तिमा अभियान चलाउने सहितका आन्दोलनका कार्यक्रम घोषणा भएका छन् ।