१० बर्ष भित्र पालिकाका सबै बिद्यालयलाई सिकाई सवलीकरण मापदण्ड पूरा भएको बनाउने सिरिजङ्गाको लक्ष्य
खगेन्द्र अधिकारी
ताप्लेजुङ,भदौ ३ । १० बर्ष भित्र पालिकाभरीका सबै बिद्यालयहरुलाई न्यूनतम् सिकाई सवलीकरण मापदण्ड पूरा भएको बनाउने लक्ष्यसहित ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकाले बिद्यालय शिक्षा क्षेत्रको योजना अघि सारेको छ ।
आव २०८०।८१ लाई आधारबर्ष मान्दै पालिकाले आव २०९१।९२ सम्मका लागि शिक्षा क्षेत्रको योजना अघि सारेको हो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बरबहादुर आङदेम्बेले शैक्षिक विकासको गतिलाई निरन्तरता दिँदै थप व्यवस्थित योजनावद्ध र प्रभावकारी शैक्षिक विकासका लागि चुनौति र समस्याको समाधान गरी समग्र शिक्षा क्षेत्रको सुधारका लागि शैक्षिक योजना अघि सारिएको बताउनुभयो । सिरिजङ्गामा ४० वटा सामुदायिक बिद्यालय रहेका छन् । करिव ३ हजार २ सय बिद्यार्थी अध्ययनरत सिरिजङ्गा गाउँपालिकामा बाल विकास देखि आधारभूत तह,माध्यमिक तह,अनुदानका शिक्षक,बिद्यालय कर्मचारी,भाषा शिक्षक र कार्यालय सहयोगी समेत गरी ३ सय ५५ जना जनशक्ति रहेका छन् ।
सिकाई उपलब्धी न्यून हुनु,बिषयगत शिक्षकाको अभाव हुनु,बिद्यालयमा इन्टरनेट तथा सूचना प्रविधिको समुचित व्यवस्थापन हुन नसक्नु,बिद्यार्थीको नियमिततामा कमी हुनु,स्थानीय पाठ्यक्रमको निर्माण नहुनु,बिद्यार्थीको कक्षा दोहो-याउने र कक्षा छाड्ने प्रवृत्ति कायमै रहनु तथा अपेक्षा अनुसार शिक्षाप्रति अभिभावकको चासो र चिन्तामा कमी हुनुजस्ता कारणलाई पालिकाले सुधार गनुपर्ने पक्षको रुपमा औंल्याएको छ । पालिकाले अघि सारेको शैक्षिक योजना अनुसार आव २०९१।९२ सम्ममा कक्षा छाड्ने दरलाई शुन्यमा झारिने छ ।
कक्षा १ को कक्षा दोहो-याउने दरलाई १ प्रतिशतमा सिमित गरी भर्ना दरलाई सत प्रतिशत पु-याउने योजना पालिकाले अघि सारेको छ । कक्षा ८ सम्मको बिद्यार्थी टिकाउदरलाई सत प्रतिशत बनाउने शैक्षिक योजनाको लक्ष्य छ । यसका लागि पालिकाले सबै बालबालिकालाई बिद्यालयमा भर्ना गराउन शैक्षिक जागरणका अभियान चलाउने,शिक्षक योग्यता तथा दरबन्दी निर्धारण तथा पुनरावलोकन गर्ने,बिद्यालयको नक्साङ्कन,पुर्नवितरण र समायोजन गर्ने,सबै बिद्यालयमा न्यूनतम् भौतिक पूर्वाधारको विकास गर्ने,बिद्यालय शिक्षालाई प्रकोप,संकट तथा महामारी जस्ता परिस्थतिप्रति योजना तयार गरी कार्यान्वयन गर्ने,सूचना तथा सञ्चार प्रविधि क्षेत्रको प्रयोग क्षमतामा विकास गर्ने कार्यक्रम अघि सार्ने पालिकाको योजना छ ।
पालिकाले बिद्यालय पोषण,स्वास्थ्य कार्यक्रम तथा दीवाखाजा कार्यक्रमलाई थप प्रभावकारी बनाउने,निःशुल्क शिक्षाको सुनिश्चितताका लागि बिद्यार्थीलाई पाठ्यपुस्तकको उचित प्रवन्ध गर्ने,अनाथ तथा टुहुरा बालबालिकाका लागि आवासीय बिद्यालय सञ्चालन गर्ने,कक्षा १–३ मा छापामय कक्षाकोठा व्यवस्थापन गर्ने,शैक्षिक गुणस्तर अभिबृद्धिका लागि शैक्षिक अवलोकन भ्रमणको व्यवस्थापन गर्ने,आधारभूत तहमा स्तरीकृत परीक्षा सञ्चालन गर्ने,बिद्यार्थीको सिकाई उपलब्धी परीक्षणलाई व्यवस्थापन गर्ने कार्यक्रम समेत अघि सारिएको छ ।