कुनैपनि शैक्षिक शुल्क तिर्नु नपर्ने बताउँदै आठराई त्रिबेणीले भन्यो‘सर्टिफिकेट निकाल्दा समेत शुल्क नतिर्नू’

खगेन्द्र अधिकारी
ताप्लेजुङ,भदौ ३ । ताप्लेजुङको आठराई त्रिबेणी गाउँपाालिकाले पालिका भित्रका बिद्यालयबाट प्रमाणपत्र निकाल्दा कुनैपनि शुल्क नलाग्ने बताएको छ ।

पालिकाले २०७९ साल देखि नै सम्पूर्ण शैक्षिक शुल्क मिनाह गरेको बताउँदै पालिका अध्यक्ष दीपेन्द्र पोमू(दीपेन)ले बिद्यालयले कुनैपनि शुल्क लिन नपाउने बताउनुभयो । पालिकाभरीका ३३ वटा सामुदायिक बिद्यालयहरुमा भर्ना शुल्क,शैक्षिक शुल्क,रजिष्ट्रेशन फारम सहितका सबै निःशुल्क रहेको बताउँदै पालिका अध्यक्ष पोमूले बिद्यालयले कुनैपनि प्रकारको शुल्क लिएको भए खबर गर्न अभिभावक तथा बिद्यार्थीलाई आग्रह गर्नु भएको छ । आठराई त्रिबेणीमा ७ वटा माध्यमिक बिद्यालय रहेका छन् । पालिकाका बिद्यालयमा आवश्यक पर्ने शिक्षकको परीक्षा शुल्क र बिद्यालयको लेखा परीक्षण शुल्क समेत पालिकाले व्यहोर्दै आएको पोमूले जानकारी दिनुभयो ।

पालिकाले ट्युसन कक्षा र परीक्षा तयारी कक्षा समेतको शुल्क व्यहोर्दै आएको बताउँदै पालिका अध्यक्ष पोमूले पालिकाका सबै सामुदायिक बिद्यालयको पठनपाठनमा बिद्यार्थीहरुले कुनैपनि शुल्क तिर्नु नपर्ने समेत जानकारी दिनुभयो । आठराई त्रिबेणी गाउँपालिकाले पालिका भरीका सबै बिद्यालय तथा स्वास्थ्य संस्थालाई प्रशासनिक खर्च उपलब्ध गराउँदै आएको छ । पालिकाले शैक्षिक अनुदान कार्यविधिनै पारित गरी पालिकाभरीका बिद्यालयले पाउने अनुदान रकमको सीमा समेत निर्धारण गरेको जनाएको छ । आठराई त्रिबेणी गाउँपालिकाले २०७९ सालबाटै पालिकाका नागरिकले घरायसी प्रयोजनमा प्रयोग गर्दै आएको विद्युत महशुल समेत निःशुल्क गरेको छ । पालिका मातहतका सरकारी निकायहरुमा निःशुल्क रुपमा इन्टरनेट सेवा प्रवाह गरिएको समेत पालिका अध्यक्ष पोमूले जानकारी दिनुभयो ।

Similar Posts