| |

ताप्लेजुङमा रमाइलो मेला, बजार चलायमान बनाउने अपेक्षा

-उज्यालो पोष्ट
ताप्लेजुङ, भदौ १ । ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारमा रमाइलो मिनी मेला सुरु भएको छ । लाखेजात्रा पर्वको अवसर पारेर फुङ्लिङ बजारमा रमाइलो मिनी मेला लगाउन सुरु गरिएको हो । यता रमाइलो मेला सुरु भएसँगै बजार चलायमान हुने स्थानीयले अपेक्षा गरेका छन् । रमाइलो मेलाका कारण मानिसको उपस्थिति बाक्लिने र चहलपहल बढ्दा बजार चलायमान हुने स्थानीयले अपेक्षा गरेका हुन् ।
सदरमुकाम फुङ्लिङ बजारको तोक्मेडाँडामा रमाइला मिनी मेला सुरु भएएको छ । रोटे पिङसहित विभिन्न मनोरञ्जनात्मक खेलकुद लगायतका गतिविधि रमाइलो मेलामा राखिएको छ । व्यापारिक दृष्टिले बजारलाई चलायमान बनाउन साथै मेला प्रेमीलाई मनोरञ्जन दिलाउने उद्देश्यले रमाइलो मेला सुरु गरिएको आयोजकले जनाएका छन् ।
मेलाको रमझम शनिबारदेखि नै सुरु भएको छ । एक महिनासम्म सञ्चालन हुने रमाइलो मेलामा बालबालिकादेखि किशोर, युवा, प्रौढलगायत सबै उमेरका मेलाप्रेमीले मनोञ्जन लिने र रमाउने गरेका छन्न । मेलाप्रेमीलाई आकर्षित गर्न र मनोरञ्जन दिलाउनका लागि रोटे पिङसहित मनोरञ्जनात्मक खेल गतिविधिसाथै सांगीतिक प्रस्तुतिहरु समेत रहेको आयोजकले जनाएको छ ।
यता नेवार समुदायको सांस्कृतिक पर्वको रुपमा रहेको लाखेजात्रा गएको मंगलबार गठेमंगल तिथिका दिनदेखि सुरु भएको छ । औपचारिक रुपमा पर्व सुरु भएको र सोही दिनदेखि फुङ्लिङ बजारमा निरन्तर लाखे नाच प्रदर्शन गरिँदै आएकाले बजारमा मानिसको चहलपहल बढ्दै गएको छ ।
लाखेजात्राकै अवसरमा आउँदो भदौ १२ देखि १९ गतेसम्म जिल्लामा हालसम्मकै ठूलो पुरस्कार राशि भएको ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको चौथो संस्करण पनि सञ्चालन हुने छ । यसरी गठेमंगलदेखि प्रत्येक दिन प्रदर्शन हुने लाखे नाच, रमाइलो मेला र फुटबल प्रतियोगिता आयोजना गरिएका कारण करिव एक महिनासम्म सदरमुकाम फुङ्लिङ चलायमान हुने छ ।
मानिसको बाक्लो उपस्थितिले बजारमा चहलपहल बढ्ने र सदरमुकामको व्यापार वृद्धि हुने अपेक्षा गरिएको ताप्लेजुङ उद्योग बाणिज्य संघका अध्यक्ष विकास गौतमले बताउनुभयो । अध्यक्ष गौतमका अनुसार विगतका वर्षहरुमा पनि लाखेजात्रा पर्वका समयमा फुङ्लिङ बजार केही चलायमान हुने गरेको थियो । हाल फुङ्लिङ बजारमा चहलपहल क्रमशः बढ्दै गएको छ । गठेमंगलदेखि सुरु भएको लाखेजात्रा पर्व भने कृष्ण जन्माष्टमीपछि समाप्त हुने छ ।

Similar Posts