खानेपानी र सिचाँईका लागि फक्ताङलुङद्धारा ८ मुख्य योजनालाई बिशेष प्राथमिकता
खगेन्द्र अधिकारी
ताप्लेजुङ,साउन २७ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले सुख्खाग्रस्त क्षेत्रमा खानेपानी तथा सिचाँई सुविधा पु-याउन ८ वटा सिचाँई तथा खानेपानी आयोजनालाई प्राथमिकतामा राखेको छ ।
पालिका अध्यक्ष राजन लिम्बू(मुक्ति)का अनुसार वडा नं ४ इखाबुस्थित खर्खरे वृहत्त खानेपानी तथा सिचाँई आयोजनालाई चालुबर्ष भित्रै पूर्ण रुपमा सञ्चालनमा ल्याई इखाबु,सेतोबा,खानी,साप्चुङ्वा र पिथोङ गाउँमा कृषिजन्य वस्तुको व्यवसायिक उत्पादन थाल्ने योजना बनाईएको छ । स्थानीय सरकार र गोर्खा वेल्यफेयर सेन्टरको संयुक्त साझेदारीमा निर्माण भई सञ्चालनमा रहेको खेजेनिम मामाङ्खे वृहत्त खानेपानी आयोजना चालु बर्षभित्रै सफल व्यवस्थापन गर्दै यस आयोजनाबाट थप बस्तिहरुमा समेत खानेपानीको सहज पहुँच उपलब्ध गराउने पालिकाको योजना रहेको पालिका अध्यक्ष लिम्बूले बताउनुभयो ।
पालिकाले संसावु खानेपानी तथा सिचाँई आयोजना,लेलेप साँघु–बतासे–बिपुधाप–कालिखोला खानेपानी तथा सिचाँई आयोजना,हेल्लोक–बेम्बाम्मा खानेपानी तथा सिचाँई आयोजना,तापेथोक–मुहाक सिचाँई आयोजना,लिङखिम ठौवा सिचाँई आयोजना र खेजेनिम सिचाँई योजनालाई प्राथमिकतामा राखेर खानेपानी तथा सिचाँईको समस्या दीर्घकालिन रुपले समाधान गर्ने पालिकाको योजना रहेको छ ।
पालिका अध्यक्ष लिम्बूले निर्माण सम्पन्न भईसकेका र चालु अवस्थामा निर्माणाधिन रहेका खानेपानी तथा सिचाँई योजनाका लागि दिगो सञ्चालन तथा मर्मतसम्भार कोषको उचित व्यवस्थापनमा पालिकाले ध्यान दिएको जानकारी दिनुभयो । पालिका भित्रका नागरिकलाई स्वच्छव खानेपानीको पहुँच सुनिश्चित गर्न र कृषि उत्पादनमा आत्मनिर्भरता कृषि क्षेत्रलाई पूर्ण व्यवसायिक बनाउन पालिकाले खानेपानी तथा सिचाँईततर्फ छुट्टाछुट्टै अवधारणा अघि सारेको छ । पालिकाले खानेपानीतर्फ ‘एक घर,एक धारा’तथा सिचाँईतर्फ‘सधैं हरियो,उत्पादनमा भरियो’भन्ने अवधारणा तय गरेको छ ।