चौथो ताप्लेजुङ गोल्डकपका बिजेताले पाउने पुरस्कार राशीको टुङ्गो,यसबर्ष बिदेशी खेलाडी पनि सर्बोत्कृष्ट हुन सक्ने

खगेन्द्र अधिकारी
ताप्लेजुङ,साउन २८ । चौथो संस्करणको ताप्लेजुङ गोल्डकपका बिजेताले पाउने पुरस्कार राशीको टुङ्गो लागेको छ ।

आयोजक लाखेजात्रा सञ्चालन समितिका अध्यक्ष सागर मादेनका अनुसार अघिल्लो संस्करणकै प्रतियोगिता हाराहारी रकम बिजेता पाउने छन् । मादेनका अनुसार यसबर्षको प्रतियोगिताका विजेताले ७ लाख  २ हजार ८३ रुपैयाँ र उपविजेताले ३ लाख ५२ हजार ८३ रुपैयाँ पुरस्कार पाउने छन् । तेस्रो संस्करणको ताप्लेजुङ गोल्डकपका विजेताले ७ लाख २ लाख ८२ रुपैयाँ र उपविजेताले ३ लाख ५० हजार ८२ रुपैयाँ पुरस्कार पाएका थिए । यसबर्ष सर्बोत्कृष्ट खेलाडी छनौटको मापदण्ड अघिल्लो संस्करण भन्दा फराकिलो बनाईएको छ । यसबर्ष सर्बोत्कृष्ट खेलाडी नेपाली या बिदेशी जोकोहि खेलाडी पनि हुनसक्ने मापदण्ड तय भएको छ । अघिल्लो संस्करणमा सर्बोत्कृष्ट खेलाडी नेपाली नागरिक नै हुने मापदण्ड थियो । सर्बोत्कृष्ट खेलाडीले बजाज कम्पनी मोटर साइकल पुरस्कार पाउँदैछन् । अघिल्लो बर्ष सर्बोत्कृष्ट खेलाडीले यमाहाको मोटर साइकल पुरस्कार पाएका थिए ।

आयोजकले भदौ १२ देखि १९ गतेसम्म हुने गोल्डपकका लागि टिकट दर समेत निर्धारण गरिसकेको छ । आयोजक समितिका अध्यक्ष मादेनका अनुसार क्वाटर फाइनलका ४ खेलका लागि प्रत्येक खेल टिकट दर २ सय रुपैयाँ,सेमी फाइनलका दुईका लागि प्रति खेल टिकट दर ३ सय रुपैयाँ र फाइनल खेलका लागि ५ सय रुपैयाँ टिकट दर कायम गरिएको छ । सुरुमा आयोजक समितिले पत्रकार सम्मेलनमार्फत क्वाटर फाइनलका प्रत्येक खेलका लागि ३ सय,सेमी फाईनलका प्रत्येक खेलका लागि ५ सय र फाइनल खेलको टिकट दर १ हजार रुपैयाँ कायम गर्ने बताएको थियो । टिकट दर पुनरावलोकन गर्न आम नागरिकहरुबाट आएको सुझावलाई मध्यनजर गर्दै सुरुमा घोषणा गरिएको भन्दा कम दर हुनेगरी टिकट दर समेत कायम गरिएको लाखेजात्रा सञ्चालन समितिले जनाएको छ । प्रतियोगितामा आयोजकको एक सहित ८ टीम सहभागी हुँदैछन् । आयोजकबाट सहभागी हुने १७ जना खेलाडी खेलाडी छनौट उपसमितिको सिफारिसका आधारमा छनौट गरी बन्द प्रशिक्षणमा राखिएको समेत आयोजक समितिले जानकारी दिएको छ ।

आयोजक समितिका अध्यक्ष मादेनका अनुसार यसबर्षको प्रतियोगिताको दोस्रो पुरस्कार स्पार्क हाईड्रो ईलेक्ट्रिक क्म्पनी लिमिटेडद्धारा प्रर्वद्धित १२८ मेगावाट क्षमताको तमोर मेवा जलविद्युत आयोजनाले गर्ने भएको छ । फुङलिङ नगरपालिकाले प्रथम पुरस्कार सो सरहको सहयोग गर्ने बचन प्राप्त भएको समेत मादेनले जानकारी दिनुभयो । यसैगरी फुङलिङ नगरपालिका क्षेत्रका ११ वटा वटाबाट दोस्रो पुरस्कार रकम सो सरहको सहयोग रकम प्राप्त हुनेगरी नगरक्षेत्रका वडाअध्यक्षहरुबाट बचन प्राप्त भएको समेत मादेनले जानकारी दिनुभयो । एक्सट्रिम इनर्जी प्रालिले ५ लाख रुपैयाँ र एनसेल कम्पनीले १ लाख रुपैयाँ सहयोग गर्नेगरी कतिपय लिखित र कतिपय मौखिम समझदारी कायम भएको मादेनले बताउनुभयो । प्रत्येक खेलका उत्कृष्ट खेलाडीलाई दिईने म्यान अफ द म्याच र विधागततर्फका पुरस्कारका लागि प्रायोजन गर्नेगरि दाताहरुबाट आश्वासन प्राप्त भएको आयोजक समितिले जनाएको छ ।

आयोजक लाखेजात्रा सञ्चालन समितिका कोषाध्यक्ष दावा शेर्पाका अनुसार यसबर्ष सञ्चालन हुने गोल्डपकको खेल तालिका ताप्लेजुङको दुर्गम हिमाली क्षेत्रमा रहेका पर्यटकीय स्थलहरु स्याम्दो पोखरी,दिकीछ्योलिङ गुम्बा र सिङजेमा ताल क्षेत्रबाट सार्वजनिक गर्ने तयारी गरिएको छ । खेलकुदलाई पर्यटनसंग जोड्ने उद्देश्यका साथ अघिल्लो बर्षबाटै खेल तालिका पर्यटकीय स्थलहरुबाट सार्वजनिक गर्ने परम्परा सुरु गरिएको शेर्पाले बताउनुभयो । अघिल्लो संस्करणको ताप्लेजुङ गोल्डकपको खेल तालिका ३ हजार ७९४ मिटर उचाईको पवित्र तीर्थस्थल पाथीभराबाट गरिएको थियो । प्रतियोगिता सञ्चालनमा प्रयोग हुने बल समेत ताप्लेजुङमा अवस्थित ६ हजार मिटर उचाईका हिमाल छुवाएर ल्याएपछि खेलमा प्रयोग गरिने भएको छ । यसबर्ष उद्घाटनको दिन हिमाली क्षेत्रको मुख्य आकर्षण मानिने याक नाक प्रस्तुत गर्ने आयोजकको तयारी छ । आयोजकले प्रतियोगिता सञ्चालनका क्रममा मैदानको व्यवस्थापन र प्याराफिट निर्माण कार्यलाई अन्तिम चरणमा पु-याएको समेत जनाएको छ ।

Similar Posts