प्रजिअ दाहालद्धारा ग्याँस बिक्री गर्ने पसलको छड्के अनुगमन,भन्नुहुन्छ‘स्टक पनि छैन,हाई डिमाण्ड पनि देखिएन’
खगेन्द्र अधिकारी
ताप्लेजुङ,साउन २३ । ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी उमेशकुमार दाहालले शनिवार अपरान्ह फुङलिङका ग्याँस बिक्री गर्ने पसलहरुको छड्के अनुगमन गर्नु भएको छ ।
खाना पकाउने ग्याँसको माग र आपूर्तिमा सन्तुलन स्थापित गर्ने उद्देश्यले प्रजिअ दाहाल आफैं छड्के अनुगमनमा निस्किएका हुन् । अनुगमनको क्रममा ग्याँसको भण्डारण भएको नदेखिएको दाहालले बताउनुभयो । ‘जति आउँछ,ग्याँस बिक्रेताले उपभोक्तालाई त्यति नै ग्याँस दिने गरेको पाईयो’प्रजिअ दाहालले भन्नुभयो‘उपभोक्ताले ग्याँस झर्ने बित्तिकै गाडीबाटै घरतर्फ लगेको पनि पाइयो’ । प्रजिअ दाहालले तत्कालै ग्याँसको माग उच्च तहको नभएको तर उपभोक्ताको माग भने कायम रहेको देखिएको समेत बताउनुभयो ।
प्रजिअ दाहालले माग र आपूर्तिबिचको सन्तुलन कायम गर्दै उपभोक्तालाई ग्याँसको अभाव हुन नदिन आफुले तराईका जिल्लाका प्रशासन कार्यालयमार्फत ताप्लेजुङ जिल्लामा नियमित रुपले ग्याँसको उपलब्धताको पहल गरिदिन आग्रह गरेको बताउनुभयो । प्रजिअ दाहालले आफुले तराईका जिल्लाहरुमा ग्याँस बिक्री गर्ने डिलरहरुसंग समेत कुराकानी गरेको जानकारी दिनुभयो ।
‘ताप्लेजुङ जिल्लालाई बिशेष प्राथमिकतामा राखेर ग्याँसको उपलब्धताका लागि गरिएको आग्रह पछि अर्को साता फेरि केहि मात्रामा ग्याँस सिलिण्डर पठाउने आश्वासन पाएका छौं’प्रजिअ दाहालले भन्नुभयो । उहाँले खाना पकाउने ग्याँस सहितका दैनिक उपभोग्य बस्तुको माग र आपूर्तिका बिषयमा सरोकारवाला निकायको समन्वयमा प्रशासन कार्यालयले नियमित अनुगमन र निगारानी गर्ने योजना बनाएको बताउनुभयो ।