विपन्न तथा लक्षित वर्गका नागरिकको स्वास्थ्य बीमा गरिदिने मैवाखोलाको तयारी,राखियो ३५ लाख बजेट
खगेन्द्र अधिकारी
ताप्लेजुङ,साउन २० । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले विपन्न तथा लक्षित वर्गका नागरिकहरुको स्वास्थ्य बीमा गरिदिने भएको छ ।
गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच अभिबृद्धि गर्ने लक्ष्यका साथ पालिकाले चालु आर्थिक बर्षमा विपन्न तथा लक्षित वर्गका नागरिकहरुको स्वास्थ्य बीमा गर्ने भएको हो । त्यसका लागि पालिकाले चालु आवको बजेटमा ३५ लाख रुपैयाँ बिनियोजन गरेको पालिका अध्यक्ष विजयप्रकाश वनेमले जानकारी दिनुभयो । यो कार्यक्रमलाई पालिकाले‘अध्यक्ष स्वास्थ्य बीमा कार्यक्रम’भनेको छ । गाउँपालिका उपाध्यक्ष कमलकुमारी लिम्बूले चालु आवका लागि प्रस्तुत गर्नु भएको बजेटमा ‘स्वस्थ्य नागरिक,स्वस्थ्य मैवाखोला’को अवधारणा आत्मसाथ गरिएको दावी गरिएको छ । पालिकाले जेष्ठ नागरिक तथा अपाङ्गता भएका ‘क’ र ‘ख’वर्गका व्यक्तिहरुका घर–घरमै गई स्वास्थ्य परीक्षण गर्ने विगतको कार्यक्रमलाई निरन्तरता दिने भएको छ ।
गर्भवती तथा सुत्केरी आमाहरुलाई मातृ पोषण कार्यक्रम अन्तरगत ‘उपाध्यक्ष चेसुङ कार्यक्रम’लाई समेत पालिकाले चालु बर्षमा पनि निरन्तरता दिने गरी बजेटको प्रवन्ध गरेको छ । स्वास्थ्य संस्थाहरुमा निःशुल्क रुपमा प्रदान गरिने ९८ प्रकारका औषधि खरिद तथा वितरण एवम् दीर्घरोगीहरुको उपचारमा सहयोग गर्न पालिकाले‘अध्यक्ष स्वास्थ्य कोष’को अवधारणा ल्याएको छ । पालिका भित्रका स्वास्थ्य स्वास्थ्यहरुमा आवश्यक पर्ने उपकरणको व्यवस्थासहित पालिकाका नागरिकको स्वास्थ्य सुधारका लागि मैवाखोलाले चालु बर्षका लागि १ करोड २७ लाख ५३ हजार रुपैयाँ बिनियोजन गरेको जनाएको छ ।
पालिकाले चालु बर्षमा ‘एक घर ५ योग जडिबुटी’अभियान सञ्चालन गर्ने भएको छ । आर्युबेद औषधालय साँघुमार्फत आर्युबेद औषधि खरिद,नसर्ने रोगको उपचार र आर्युबेद गाउँघर क्लिनिक सञ्चालन गर्नेगरी बजेटको प्रवन्ध भएको पालिकाका स्वास्थ्य शाखा प्रमुख फुर्वा शेर्पाले जानकारी दिए । गाउँपालिकाले ‘सुखी र समृद्ध मैवाखोलाको आधार,अर्गानिक कृषि,शिक्षा,पर्यटन र पूर्वाधार’नारा तय गरेको छ ।
पालिकाले चालु आर्थिक बर्षभित्र प्रशासनिक भवन निर्माण कार्य पूरा गरी सञ्चालनमा ल्याउने,प्राङ्गारिक मल उद्योग सञ्चालनमा ल्याई कृषकलाई प्राङ्गारिक मल बितरण कार्य सुरु गर्ने,स्वास्थ्य बीमामा नागरिकको पहुँच बढाई नागरिकको स्वास्थ्य उपचारमा टेवा पुग्ने,६ वटै वडाहरुमा स्वास्थ्य संस्थालाई पूर्वाधारले सुसज्जित बनाई आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउने,विपद् पीडित ६५ घरपरिवारलाई स्थायी आवास व्यवस्थापन कार्य सुरु गर्ने,पालिका भित्रका सबै सडकहरुलाई स्तरोन्नती गरी बाह्रै महिना सहज ढंगले सवारी आवागमन सञ्चालन हुने तहमा लगिने,पालिकालाई फुसको छानोमुक्त गाउँपालिका बनाउने,बालमैत्री स्थानीय शासनयुक्त पालिका घोषण गर्ने र कृषकलाई उन्नत जातका बीऊबिजन उपलब्ध गराई व्यवसायिक बनाउने सहितका लक्ष्य लिएको छ ।