एमाले ताप्लेजुङद्धारा नेपालीहरुका महान चाडपर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम
उज्यालो पोष्ट
ताप्लेजुङ,कात्तिक १९ । नेपालीहरुका महान चाडपर्वको अवसर पारेर नेकपा एमाले ताप्लेजुङले बिहीबार फुङलिङमा शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम आयोजना गरेको छ ।
एमाले जिल्ला पार्टी कार्यालयको सभाहलमा आयोजित कार्यक्रममार्फत एमाले ताप्लेजुङले दशैं,तिहार,नेपाल सम्वत्,छैट,चासोक तङ्नाम,उद्यौली,ल्होसारसहितका पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रमको आयोजना गरेको हो । एमाले ताप्लेजुङका कार्यवाहक अध्यक्ष तथा आठराई त्रिबेणी गाउँपालिका अध्यक्ष दीपेन्द्र पोमू(दीपेन)का अनुसार चाडपर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा आपसी सम्बाद,एकता,सद्भाव र सहकार्य तथा भाइचारा सम्वन्ध थप मजवुत बनाउन प्रोत्साहित गर्ने उद्देश्यले कार्यक्रमको आयोजना भएको हो ।
शुभकामना आदान–प्रदान कार्यक्रममा उपस्थित अथितिहरुले यस्ता कार्यक्रमले सद्भाव र सहकार्यको आधार तयार हुने भन्दै कार्यक्रम संयोजन गर्ने एमाले ताप्लेजुङलाई धन्यवादसहित नेपालीहरुका चाडपर्वको अवसरमा सम्पूर्ण नेपालीहरुमा शुभकामना दिएका छन् । कोशी प्रदेशसभाका सदस्य समेत रहनु भएका एमालेका केन्द्रीय सदस्य तथा जिल्ला इञ्चार्ज तिलकुमार मेन्याङ्वोको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा एमाले केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य क्षितिज थेबे,प्रतिनिधिसभा सदस्य तथा नेपाली काँग्रेसका महाधिबेशन प्रतिनिधि गीताकुमारी सेन्दाङ,जिल्ला समन्वय समिति प्रमुख छिरिङ लामा,पाथीभरा याङवरक गाउँपालिका अध्यक्ष केशरकुमार सुब्बा,फुङलिङ नगर उपप्रमुख ओझासहितका जनप्रतिनिधिको उपस्थिति रहेको थियो ।
कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला सचिव लिलाराज पौडेल,नेपाली काँग्रेसका जिल्ला सचिव तथा मेरिङदेन गाउँपालिका अध्यक्ष युकहाङवीर हाङगाम(डम्बर),एमाले कोशी प्रदेश कमिटीका सदस्यहरु,जिल्लाका पदाधिकारी तथा सदस्यहरु,श्रम संस्कृति पार्टीका जिल्ला अध्यक्ष निमा शेर्पा,एमाले पालिका कमिटीका पदाधिकारी तथा सदस्यहरु,पाथीभरा बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष शिला इजम,ताप्लेजुङ उद्योग वाणिज्य संघका उपाध्यक्ष शान्ति मादेन,जिल्ला प्याब्सनका अध्यक्ष देवराज गुरुङसहित सञ्चारकर्मी तथा एमालेका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । शुभकामना आदान–प्रदान कार्यक्रम अहिलेसम्म चलिरहेको छ ।