प्रजिअ सहित ताप्लेजुङका सुरक्षा प्रमुख फेरिए,नयाँ प्रजिअमा चापाँगाई
उज्यालो पोष्ट
ताप्लेजुङ,साउन ३१ । । बिश्वकै महामारीको रुपमा रहेको कोरोना बिरुद्धको लडाई र बिपद् व्यवस्थापन सहितका कार्यमा सक्रिय र बिबादरहित भूमिका निर्वाह गर्नु भएका ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाको सरुवा भएको छ । गत साउन २० गते एकबर्षे कार्यकाल पूरा गर्नु भएका निरौलाको ठाउँमा अब नयाँ प्रमुख जिल्ला अधिकारीको रुपमा झरेन्द्र चापागाँईले नेतृत्व गर्नु हुने छ ।

गृह मन्त्रालयले यहाँ कार्यरत प्रमुख जिल्ला अधिकारी निरौलाको इलाम जिल्लाको सहायक प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिदैं यहाँका लागि इलाका प्रशासन कार्यालय उर्लावारीका प्रमुख चापागाँईलाई यहाँको नयाँ प्रजिअ बनाएर पठाएको हो । इलाका प्रशासन कार्यालय उर्लावारीमा भने यसअघि फुङ्लिङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रहिसक्नु भएका श्रवणकुमार पोखरेलको सरुवा गरिएको छ । जिल्ला कारागार शाखा पर्साका प्रमुख रहनु भएका पोखरेलले यसअघि ताप्लेजुङको सहायक प्रमुख जिल्ला अधिकारीको भूमिका निर्वाह गरिसक्नु भएको छ । पहिलो पटक प्रजिअको भूमिकामा रहेपनि बिवादरहित एकबर्षे कार्यकाल पूरा गर्नु भएका निरौलाको सक्रियतामा कोभिड–१९ बिरुद्धको जिल्लागत व्यवस्थापन सहज हुदैं आएको थियो । उहाँकै योजना र परिकल्पनामा जिल्ला समन्वय समितिका प्रमुख घनेन्द्र मादेनको संयोजकत्वमा कोरोना नियन्त्रण तथा व्यवस्थापन समिति बनेको थियो भने हरेक दिनको १२ बजे कोभिड–१९ बिरुद्ध बनाईने योजना र चालिने कदम बारे छलफल हुने गरेका थिए ।‘म गएपनि कोभिड–१९ र बिपद् सहितका आम नागरिकको सहयोगले चल्ने र बन्ने योजनाले निरन्तरता पाउने छन्’निरौलाले भन्नुभयो ।

हरेक दिन हुने छलफलले क्वारेन्टिन तथा होल्डिङ सेन्टरको व्यवस्थापन देखि पीसीआर परीक्षण र व्यवस्थापन सम्मका लागि भए÷गरेका कार्यको समिक्षा र आगामी योजना बुन्न सहज हुदैं आएको कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिका संयोजक मादेन बताउनुहुन्छ । निरौलाकै परिकल्पना अनुसार यहाँका ९ स्थानीय तहमध्ये फुङ्लिङ नगरपालिकाले ४ सय थान र बमँकी ८ वटा गाउँपालिकाले २–२ सय थान पीसीआर भाईल खरिद गरी अहिले ताप्लेजुङमा पीसीआर परीक्षणको दाहेरा फराकिलो बनाईएको छ । कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिको योजना अनुसार अहिले जिल्ला तहमै कोरोना नियन्त्रण तथा व्यवस्थापन कोष खडा भएको छ । सबै स्थानीय तहले कम्तिमा २–२ लाख रुपैंया जम्मा गर्ने गरी खडा भएको कोषको रकम परिचालन गरेर क्वारेन्टिन तथा होल्डिङ सेन्टरको व्यवस्थापन र स्वाब संकलन गरी परीक्षणमा पठाउँदा लाग्ने यातायात खर्च समेतको खर्च व्यहोरिन्छ । अहिले भारतसहित तेस्रो मुलुकबाट ताप्लेजुङ प्रबेश गर्नेलाई काबेलीबाटै स्कर्टिङ गरेर फुङ्लिङस्थित होल्डिङ सेन्टरमा ल्याईन्छ र पीसीआर परीक्षणको रिर्पोट नेगेटिभ आएपछि मात्र सम्वन्धित पालिका पठाउने गरिन्छ । ‘समुदायमा कोरोना फैलन नदिन प्रजिअ ज्युले चालेको कदम वास्तवमै स्वागतयोग्य र अनुकरणीय छ’रेडक्रस ताप्लेजुङका मन्त्री विकास गौतमले भन्नुभयो‘बिपद् व्यवस्थापन समेतमा उहाँको दख्खल निपूर्ण पाएँ’ ।
दुई सुरक्षा प्रमुख पनि नयाँ
ताप्लेजुङका दुई सुरक्षा प्रमुख पनि नया आउनु भएको छ । यहाँस्थित भीमकाली गुल्ममा निरजबिक्रम थापा मगर नयाँ गुल्मपति(मेजर)को रुपमा आउनु भएको छ । यसअघि कार्यरत भूपेन्द्र गोदार पदोन्नती(ले.क)भई प्रधान कार्यालयमा सरुवा हुनु भएको थियो । यसैगरी सशस्त्र प्रहरी वल नं १ गुल्म कञ्चजंघा हेडक्वाटरको नयाँ गुल्मपतिमा शसस्त्र प्रहरी नायव उपरीक्षक रविन्द्र श्रेष्ठ आउनु भएको छ । यसअघि कार्यरत शसस्त्र प्रहरी नायव उपरीक्षक यदकुमार कार्कीको भक्तपुर सरुवा भएपछि श्रेष्ठ नयाँ प्रमुखको रुपमा सशस्त्र प्रहरीको कञ्चजंघा गुल्म आउनु भएको हो ।