फक्ताङलुङमा कृषि एम्बुलेन्स सञ्चालनमा आयो
खगेन्द्र अधिकारी
ताप्लेजुङ,भदौ ७ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले कृषि एम्बुलेन्स खरिद गरी सञ्चालनमा ल्याएको छ । पालिकाले कृषि एम्बुलेन्स खरिदका लागि २० लाख रुपैयाँ बिनियोजन गरेको थियो । गाउँपालिकामा उत्पादित कृषिजन्य बस्तुको उचित बजारीकरणका लागि पालिकाले कृषि एम्बुलेन्स खरिद गरी सञ्चालनमा ल्याएको हो ।
पालिकाले कृषक र उपभोक्ताबिच प्रत्यक्ष व्यवसायिक सम्वन्ध स्थापित गर्दै कृषिजन्य उत्पादनको बजारमा बिचौलियाको प्रभाव अन्त्य गर्ने योजना अनुरुप कृषि एम्बुलेन्स,पालिका कोशेली घर र पालिकाका मुख्य बजार क्षेत्रमा साप्ताहिक हाट बजार सञ्चालन गर्ने योजना बनाएको थियो । पालिका अध्यक्ष राजन लिम्बू(मुक्ति)का अनुसार कृषिजन्य उत्पादनको बजार सुनिश्चितता गर्न यस्ता कार्यक्रम अघि सारिएको हो । कृषि एम्बुलेन्स सेवामार्फत दुर्गम बस्तिका बासिन्दाको कृषिजन्य उत्पादनलाई प्रतिश्पर्धी बजारसंग जोड्दै बजार र बिक्री दुबैको सुनिश्चितता कायम गर्ने पालिकाको तयारी रहेको पालिका अध्यक्ष लिम्बूले जानकारी दिनुभयो । पालिकाले कृषकको उत्पादनको सहज संकलन,ढुवानी,भण्डारण र बजारीकरणका लागि पालिकाका विभिन्न स्थानमा कृषिउपज उत्पादन संकलन केन्द्र स्थापना गर्ने भएको छ ।
संकलन केन्द्रमा संकलित कृषि उपजलाई समयमा बजारमा पु¥याई कृषकको लागत घटाउने,उत्पादनको क्षति न्यूनीकरण गर्ने र उचित मूल्य सुनिश्चित गर्न कृषि एम्बुलेन्स सञ्चालनमा ल्याउने तयारी रहेको पालिका अध्यक्ष लिम्बूले जानकारी दिनुभयो । साप्ताहिक रुपमा सञ्चालन हुने नियमित हाट बजारले उत्पादनको खपतमा बृद्धि,कृषकको आय आर्जनमा बृद्धि, स्थानीय अर्थतन्त्रको सुद्रिढीकरण र नागरिकमा आत्मनिर्भरताको विकास हुने पालिकाले विश्वास लिएको छ । पालिकाले कृषि उत्पादन बढाउने मात्र नभई उत्पादन,प्रशोधन,बजारीकरण र उचित प्रतिफलसहितको मूल्य श्रिंखलाका कृषकको स्वामित्व र सम्मान स्थापित गर्दै फक्ताङलुङलाई अग्र्यानिक कृषि अर्थतन्त्रको नमूना पालिकाको रुपमा विकास गर्ने दीर्घकालिन लक्ष्य निर्धारण गरेको छ । पालिकाले कृषि उत्पादन अभिबृद्धि देखि मूल्य श्रिंखलालाई सुद्रिढ र व्यवस्थित बनाउने योजनाका साथ कृषि क्षेत्रलाई बिशेष प्राथमिकता दिएको पालिका अध्यक्ष लिम्बूले जानकारी दिनुभयो ।