|

चौथो ताप्लेजुङ गोल्डकप : प्याराफिट निर्माण गर्न थालियो,मैदानको व्यवस्थापन तीव्र गतिमा

खगेन्द्र अधिकारी
ताप्लेजुङ,साउन १६ । आउँदो भदौ १२ गते देखि ताप्लेजुङमा हुने चौथो संस्करणको ताप्लेजुङ गोल्डकपका लागि खेल मैदानस्थलको व्यवस्थापन र अस्थायी प्याराफिट निर्माणको कार्य थालिएको छ ।

आयोजक लाखेजात्रा सञ्चालन समितिले खेल सञ्चालनस्थल भानुजन माविको घाँसे मैदानलाई व्यवस्थापन गर्न थालेको छ । लाखेजात्रा सञ्चालन समितिका अध्यक्ष सागर मादेनले मैदानको घाँस कटान गरी पूर्ण रुपले ‘दुबो’ले सजिएको स्थलको रुपमा रुपान्तरण गर्ने कार्य सुरु भएको जानकारी दिनुभयो ।‘धेरै मेहनेत लगाएर रोपिएको दुबोको ठूलो भाग कटान गरी मैदानलाई पूर्ण रुपले खेल खेल्न योग्य बनाउन थालेका छौं’मादेनले भन्नुभयो । उहाँका अनुसार विगत दुई दिनदेखि नियमित रुपमा घाँसे मैदानलाई व्यवस्थापन गर्ने कार्य चलिरहेको छ । आयोजक समितिका कोषाध्यक्ष दावा शेर्पाले खेल मैदानस्थलमा करिव ५ हजार दर्शकले प्याराफिटमै बसेर खेलको अवलोकन गर्न पाउने गरी अस्थायी प्याराफिट निर्माण गर्न थालिएको जानकारी दिनुभयो । भानुजन माविको खेल मैदानमा रहेको स्थायी प्याराफिट र अस्थायी रुपमा निर्माण गरिने प्याराफिटमा बसेर दर्शकले खेल अवलोकन गर्नेगरि व्यवस्थापनको कार्य भइरहेको शेर्पाले जानकारी दिनुभयो । यसपटक प्याराफिट क्षेत्रमा पारदर्शी प्रकारको छानो लगाएर घाम र पानी छेक्नेगरिको तयारी थालिएको आयोजक समितिले जनाएको छ ।

प्रतियोगितामा आयोजकको एकसहित आठ टीम सहभागी हुने निक्र्यौल भईसकेको छ । यसपटक भारत बाहेक भुटानको चर्चित क्लवलाई समेत प्रतियोगितामा सहभागिताका गराउने बारे छलफल भइरहेको आयोजक समितिले जनाएको छ । यसबाहेक पाँचथर,इलाम,सातदोबाटो,सलहेश सहितका टीमहरु खेलमा सहभागी हुने जिनश्चित जस्तै भएको आयोजकले जनाएको छ । यसबर्षको प्रतियोगितामा पुरस्कार राशी समेत बृद्धि गर्ने योजना बनाईएको आयोजक समितिका कोषाध्यक्ष शेर्पाले बताउनुभयो । तर,कति राशी बढाउने भन्ने बिषयमा भने आयोजक समिति निर्णयमा पुगिसकेको छैन । गतबर्षको बिजेताले ७ लाख २ हजार ८२ रुपैयाँ र उपबिजेताले ३ लाख ५० हजार ८२ रुपैयाँ पुरस्कार पाएका थिए । अघिल्लो बर्ष सर्बोत्कृष्ट खेलाडीलाई मोटर साईकल पुरस्कार प्रदान गरिएको थियो । यसपटक मोटर साइकल वा स्कुटरमध्ये एक हुने आयोजक समितिका अध्यक्ष मादेनले बताउनुभयो ।

बिधागत पुरस्कारलाई साविक झैं कायम राख्ने आयोजक समितिको तयारी रहेको छ । खेलकुदका माध्यमबाट पर्यटन प्रर्वद्धन गर्ने उद्देश्य राखेर प्रतियोगिता सञ्चालन गर्दै आइरहेको बताएको आयोजक समितिले यसबर्ष सञ्चालन हुने प्रतियोगिताको खेल तालिका समुद्र सतहबाट करिव ४ हजार ८ सय मिटर उचाईमा रहेको फक्ताङलुङ गाउँपालिका वडा नं ७ स्थित स्याम्दो पोखरीबाट सार्वजनिक गर्ने तयारी गरेको छ । अघिल्लो बर्षको खेल तालिका ३ हजार ७ सय ९४ मिटर उचाईको पाथीभरा मन्दिरबाट सार्वजनिक गरिएको थियो । यसबर्ष खेलमा प्रयोग हुने बल ताप्लेजुङका ६ हजार मिटर हाराहारीका हिमाल छुवाएर ल्याई प्रयोग गर्ने आयोजकको तयारी छ ।

Similar Posts