स्वास्थ्य संस्थालाई प्रशासनिक खर्च उपलब्ध गराउँदै आठराई त्रिबेणी,शनिवार वडा नं ५ चाँगेमा सार्वजनिक सुनुवाई

उज्यालो पोष्ट
ताप्लेजुङ,असार ५ । ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिकाका पालिका भरीका स्वास्थ्य चौकी तथा आधारभूत स्वास्थ्य इकाईलाई प्रशासनिक खर्च उपलब्ध गराउने कार्यलाई निरन्तरता दिने भएको छ ।

पालिकाभरीमा ७ वटा स्वास्थ्य चौकी र ३ वटा आधारभूत स्वास्थ्य इकाई रहेका छन् । पालिका अध्यक्ष दीपेन्द्र पोमू(दीपेन)का अनुसार प्रत्येक स्वास्थ्य चौकीलाई प्रशासनिक खर्चवापत पालिकाले ५० हजार रुपैयाँ र आधारभूत स्वास्थ्य इकाईलाई १० हजार रुपैयाँका दरले प्रशासनिक खर्च उपलब्ध गराउँदै आएको छ । पालिकाले स्वास्थ्य चौकी तथा आधारभूत स्वास्थ्य इकाईको प्रांगणमा फूलवारी सहितको हरियाली वातावरणलाई अनिवार्य गर्ने नीति लिएको छ । शुक्रवार सोबुवाखोला स्वास्थ्य चौकीको निरीक्षण गर्दै पालिका अध्यक्ष पोमूले स्वास्थ्य संस्था भित्र गार्डेन बनाउने,सरसफाईमा उचित ध्यान दिने,सेवाग्राहीमैत्री सेवा प्रदान गर्ने,नियमित रिपोर्टिङ गर्ने सहितका दैनिक कार्य सम्पादन नागरिकमैत्री हुनुपर्नेमा जोड दिनुभयो ।

पालिका अध्यक्ष पोमूले आफुहरुले शिक्षा,स्वास्थ्य,विद्युत,खानेपानी,poकृषि,सडक र पूर्वाधारका कार्यलाई प्राथमिकतामा राखेको बताउनुभयो । आफुले निर्वाचनताका जारी गरेको घोषणापत्र अनुसारका कार्य पूरा हुने चरणमा रहेको र आफ्नो कार्यकाल अवधिमा पूरा गरेर छाड्ने पोमूको प्रतिबद्धता रहेको छ । यसैबिच आठराई त्रिबेणी गाउँपालिकाले पालिकाका प्रत्येक वडामा सार्वजनिक सुनुवाई गर्दै आएको छ । शनिवार वडा नं ५ मा सार्वजनिक सुनुवाई भएसंगै चालु आवमा पालिकाका सबै वडामा सार्वजनिक सुनुवाई सम्पन्न हुने छ ।

असार २ गते वडा नं १ निघुरादिनमा,असार ३ गते वडा नं २ फुलवारीमा,असार ४ गते वडा नं ३ हाङपाङमा,असार ५ गते वडा नं ४ चाँगेमा र असार ६ गते वडा नं ५ चाँगेमा सार्वजनिक सुनुवाई सम्पन्न भई चालु आर्थिक बर्ष २०८२।८३ को सार्वजनिक सुनुवाई सम्पन्न हुने पालिका अध्यक्ष पोमूले जानकारी दिनुभयो । २०७९ सालको स्थानीय तहको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिको टोलीले निर्वाचित भएपछि नियमित रुपमा सार्वजनिक सुनुवाई सम्पन्न गर्दै आइरहेको पालिकाले जनाएको छ ।

सोबुवा स्वास्थ्य चौकीको निरीक्षण गर्नु हुँदै पालिका अध्यक्ष दीपेन्द्र पोमू र प्रमुख प्रशासकीय अधिकृत अजय राजवंशी ।

Similar Posts