मानव बेचबिखन बिरुद्धको अन्तराष्ट्रिय दिवस मनाइयो

उज्यालो पोष्ट
ताप्लेजुङ,साउन १४ । ताप्लेजुङमा बिहीबार मानव बेचबिखन बिरुद्धको अन्तराष्ट्रिय दिवस मनाईएको छ ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङको संयोजन तथा सशस्त्र प्रहरी वल नेपाल नं १ गुल्म हेडक्वाटर कञ्चनजंघा गुल्म र फुङलिङस्थित लिटलबुद्ध इङलिस बोर्डिङ स्कुलको सहभागितामा प्रभातफेरि तथा अभिमुखीकरण सहित कार्यक्रम मनाईएको हो । तोक्मेडाँडाबाट सुरु भएको प्रभातफेरि नगर परिक्रमा गर्दै वीरेन्द्रचौकमा आएर सभामा परिणत भएको थियो । सभालाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी उमेशकुमार दाहालले मानव बेचबिखन मानवता बिरुद्धको जघन्य अपराधको रहेको बताउँदै यस्ता गलत कार्यको निर्मुलीकरण जरुरी रहेको बताउनुभयो । मानवता बिरुद्धको जघन्य अपराध निर्मुलीकरणका लागि समाजको सचेत वर्ग र युवा व्यत्तित्वहरु अग्रसर हुनुपर्ने प्रजिअ दाहालको भनाई थियो ।

कार्यक्रममा जिल्ला प्रहरी प्रमुख(डिएसपी)उमेश जोशीले मानिसलाई पशुसरह बेचबिखन गर्ने कार्यले समाज गलत दिशातर्फ जाँदै छ भन्ने प्रष्ट हुने बताउँदै यसको निर्मुलीकरण समुदाय र प्रहरी प्रशासनको संयुक्त प्रयासबाट मात्र सम्भव हुने बताउनुभयो । अपरिचित व्यक्तिसंगको अनुचित सम्पर्क तथा अनावश्यक प्रलोभनमा पर्दा समेत मानव बेचबिखन हुने गरेको स्मरण गर्दै जिल्ला प्रहरी प्रमुख जोशीले व्यक्तिका अस्वभाविक प्रलोभनमा नपर्न र अपरिचित व्यक्तिसंग सम्पर्कमा नजान समेत सुझाउनु भएको छ । लिटलबुद्ध इङलिस बोर्डिङ स्कुलका प्रिन्सिपल युवराज गिरीले मानवता बिरुद्धको गम्भिर अपराधको रहेको मानव बेचबिखन बिरुद्ध समुदायका हरेक सदस्य चनाखो हुनुपर्ने र बिद्यालयको आधारभूत तहबाटै मानव बेचबिखन बिरुद्ध सर्तक र सम्बेदनशिल हुनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा सशस्त्र प्रहरी वल नेपाल नं १ गुल्मका गुल्मपति सशस्त्र प्रहरी नायव उपरीक्षक धनबहादुर बोहोरा,प्रहरी निरीक्षकद्धय बिध्यालालकुमार शाह र विन्देश्वरकुमार यादव,सशस्त्र प्रहरी निरीक्षक डिगेन्द्र ओली,पत्रकार महासंघ ताप्लेजुङका अध्यक्ष सुवास आचार्य र पूर्व अध्यक्ष खगेन्द्र अधिकारी सहितको उपस्थिति रहेको थियो । सन् २०१३ मा,संयुक्त राष्ट्र सङ्घको महासभाले विश्वव्यापी कार्य योजनाको मूल्याङ्कन गर्न उच्च स्तरीय बैठकबाट हरेक बर्षको जुलाई ३० लाई मानव बेचबिखन विरुद्धको विश्व दिवसको रूपमा मनाउने निर्णय गरेको थियो । सोहि अनुसार यो दिवस नेपालसहित विश्वभर हरेक बर्षको जुलाई ३० तारेखका दिन मनाउने गरिन्छ ।

 

Similar Posts