|

कञ्चनजंघा आधार शिविर पुगेका एक व्यक्तिको मृत्यु

-उज्यालो पोष्ट
ताप्लेजुङ, चैत १५ । ताप्लेजुङस्थित कञ्चनजंघा हिमालको आधार शिविर पुगेका एक व्यक्तिको मृत्यु भएको छ । प्रहरीका अनुसार समृद्ध पहाड नामक संस्थाका कर्मचारी चन्द्रजंग हमालको कञ्चनजंघा आधार शिविर लोनाकमा मृत्यु भएको हो ।
ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमका अनुसार जुम्ला जिल्लाको कनकासुन्दरी गाउँपालिका–५ का ३३ वर्षीय हमालको शनिबार बिहान मृत्यु भएको भएको हो । कञ्चनजंघा संरक्षण क्षेत्र आयोजनाको सहयोगी कर्मचारी (सपोर्ट स्टाफ) का रुपमा काम गर्न जाने क्रममा लोनाक पुगेका बेला बिहान २ः३० बजेतिर अचानक बिरामी भएका हमालको मृत्यु भएको प्रनाउ गौतमले जानकारी दिनुभयो ।
प्रनाउ गौतमका अनुसार एभरेष्ट एयरको हेलिकोप्टरमार्फत मृतक हमालको शव ल्याउने तयारी भइरहेको छ । कञ्चनजंघा क्षेत्रबाट हेलिकोप्टरमार्फत हमालको शव सुकेटार विमानस्थल ल्याएपछि आवश्यक कानुनी प्रक्रियाका कार्य हुने प्रहरीले जनाएको छ ।
हमाल समृद्ध पहाड नामक संस्थाको योजना अधिकृत पदमा नियुक्ती ताप्लेजुङमा कार्यरत रहनुभएको थियो । कञ्चनजंघा आधार शिविर लोनाकको उचाइ चार हजार ७८० मिटर रहेको छ । पछिल्लो साता निरन्नर हुँदै आएको वर्षासँगै लोनाक क्षेत्रमा बाक्लो हिमपात भएको पर्यटन व्यवसायीले बताएका छन् ।

Similar Posts