पाँचौं सिरिजङ्गा गोल्डकप सम्वन्धी सार्वजनिक सुनुवाई: क्लवमा ७ हजार बढी बचत,दातालाई सम्मान

खगेन्द्र अधिकारी
ताप्लेजुङ,साउन ११ । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकास्थित तेल्लोक स्पोर्टिङ क्लवले पाँचौं सिरिजङ्गा गोल्डकप सञ्चालनको क्रममा ७ हजार रुपैयाँ बचत गरेको छ ।

तेल्लोक स्पोर्टिङ क्लवले सोमवार सार्वजनिक सुनुवाई तथा दाता सम्मान कार्यक्रममार्फत पाँचौं सिरिजङ्गा गोल्डकपको आय व्यय विवरण सार्वजनिक गरेको हो । क्लवका कोषाध्यक्ष दिनेश भट्टराईका अनुसार गोल्डकप सञ्चालनको क्रममा २९ लाख ९३ हजार ३ सय २० रुपैयाँ आम्दानी भएकोमा २९ लाख ८६ हजार ३ सय २ रुपैयाँ खर्च भएको छ । सो क्रममा ७ हजार १८ रुपैयाँ बचत भएको क्लवका सचिव रञ्जित मावोले जानकारी दिनुभयो । मावोका अनुसार चौथो सरिजङ्गा गोल्डकपका क्रममा २८ लाख २६ हजार ५४ रुपैयाँ खर्च भएको थियो । २०८२ साल मंसिर २३ देखि २९ गतेसम्म सञ्चालित पाँचौं सिरिजङ्गा गोल्डकपमा एक अन्तराष्ट्रियसहित ८ टीमको सहभागिता रहेको थियो ।

क्लवका अध्यक्ष अर्जुन भट्टराईका अनुसार गोल्डकपमा भारतको एक टिम सहित आयोजकको टिम,झापा,इलाम,सुनसरी,तेह्रथुम,धनकुटा जिल्लाका क्लवहरुको सहभागिता रहेको थियो । सिरिजङ्गा मेला समेत भएको गोल्डकपका क्रममा राष्ट्रिय कलाकार मेलिना राई,प्रताप दास,जुनु प्रसाँइ,गोविन्द चेम्जोङ,अञ्जना नाल्वो सहितका कलाकारको प्रस्तुति समेत रहेको थियो । किराँत लिम्बू लिपिका प्रचारक, सिरिजङ्गा लिपि र याक्थुङ संस्कृतिका प्रणेता सिरिजङ्गासिंह थेबेको जन्म जयन्तीको अवसर पारेर ‘सिरिजङ्गा मेला’सहित सिरिजङ्गा गोल्डकप हुँदै आएको छ । सिरिजङ्गासिंह थेबेलाई जातीय अस्थित्वका रक्षक,ज्ञानका पुञ्ज एवम् प्रकाण्ड विद्धान मानिन्छ । सिरिजङ्गा गाउँपालिका त्येअङ्सी सिरिजङ्गासिंह थेबेको जन्म भएको स्थलको रुपमा परिचित छ ।

तेल्लोक स्पोर्टिङ क्लवले हरेक बर्ष सञ्चालन भएका गोल्डकप तथा मेलाको अवसरमा भएका आम्दानी तथा खर्चको विवरण सेवा क्षेत्रका नागरिक,सहयोगी दाता महानुभावहरु र अन्य सरोकारवालाको उपस्थितिमा सार्वजनिक गर्दै आइरहेको छ । क्लवले तेस्रो संस्करणको ताप्लेजुङ गोल्डकपका क्रममा जिल्लागत आयोजकको रुपमा समेत भूमिका निर्वाह गरेको थियो । प्रतियोगिताको प्रमुख प्रायोजक सिरिजङ्गा गाउँ कार्यपालिकाको कार्यालय,पाथीभरा क्षेत्र विकास समिति र त्येअङ्सी सिरिजङ्गा स्मृति संस्था रहेका थिए । सिरिजङ्गा गाउँपालिका वडा नं ४ का वडाध्यक्ष रुपदास भट्टराई सहितका जनप्रतिनिधिको उपस्थितिमा भएको कार्यक्रममा क्लवले पाँचौं सिरिजङ्गा गोल्डपकका दाताहरुलाई सम्मान समेत गरेको छ ।

Similar Posts