ताप्लेजुङ गोल्डकपका क्वाटर फाइनल खेलमा गेटमनीबाट झण्डै १२ लाख संकलन,टिकट प्याकेजको गणना हुन बाँकी
खगेन्द्र अधिकारी
ताप्लेजुङ,भदौ १६ । आयोजक लाखेजात्रा सञ्चालन समितिले चौथो ताप्लेजुङ गोल्डकपका ४ क्वाटर फाइनल खेलमा खेलको अवलोकनकर्ताहरुबाट झण्डै १२ लाख रुपैयाँ संकलन गरेको छ ।
लाखेजात्रा सञ्चालन समितिका कोषाध्यक्ष दावा शेर्पाका अनुसार कुल ११ लाख ९१ हजार २०० रुपैयाँ संकलन भएको छ । यो रकम आयोजकले निर्धारण गरेको टिकट प्याकेजको रकम भन्दा बाहिर प्रवेशद्धारमै संकलन भएको रकम हो । लाखेजात्रा सञ्चालन समितिले यसबर्ष सहयोग सहित गोल्डकपका सबै खेल हेर्नका लागि जनही ३ हजार रुपैयाँको टिकट प्याकेज ल्याएको छ । टिकट प्याकेजबाट संकलित रकम भने गणना हुन बाँकी रहेको आयोजकले जानकारी दिएको छ । टिकट प्याकेज बाहेक आयोजकले पहिलो क्वाटर फाइनल खेलमा ३ लाख ५५ हजार ८००,दोस्रो खेलबाट १ लाख ८८ हजार २००,तेस्रो खेलबाट २ लाख ६१ हजार ४ सय र अन्तिम क्वाटर फाइनल खेलबाट ३ लाख ८५ हजार ८०० रुपैयाँ संकलन गरेको जनाएको छ ।
आयोजकले टिकट प्याकेज बाहेक प्रत्येक दिनको टिकट सोहि दिन लिने दर्शकका लागि क्वाटर फाईनलका ४ खेलका लागि प्रति खेल २०० रुपैयाँ,सेमीफाइनलका दुई खेलका लागि प्रति खेल ३०० रुपैयाँ र फाइनल खेलका लागि ५०० रुपैयाँ टिकट दर निर्धारण गरेको छ । चौथो संस्करणको ताप्लेजुङ गोल्डकप अन्तरगत मंगलवारबाट सेमीफाईनल चरणका खेल हुँदैछन् । पहिलो सेमीफाईनलमा मंगलवार गतबर्षको डिफेण्डिङ च्याम्पियन सिराहाको सलहेस युवा क्लव भारत कालिम्पोङको जर्जियन युनाईटेड फुटबल क्लवसंग फाईनल यात्राका लागि प्रतिश्पर्धा गर्दैछ । बुधवार दोस्रो सेमीफाईनलमा फिदिम स्पोर्टिङ क्लवले झापा–११ को टिमसंग प्रतिश्पर्धा गर्ने छ ।