मुख्यमन्त्री नबन्दै मेन्याङ्वोलाई बधाईको ओईरो,मेन्याङ्वोको प्रतिक्रिया‘ग्रिन सिग्नल आईसक्यो’
खगेन्द्र अधिकारी
ताप्लेजुङ,साउन १० । मुख्यमन्त्री बनि नसक्दै एमाले कोशी प्रदेशसभा संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्वोलाई मुख्यमन्त्रीको रुपमा बधाईको ओइरो लाग्न थालेको छ ।
मेन्याङ्वो मुख्यमन्त्री भइसकेको भन्दै सामाजिक सञ्जालमा मेन्याङ्वोलाई बधाई दिनेको लर्को लागेको हो । संघीय राजधानी काठमाडौंमा रहेका मेन्याङ्वोले भने आफुलाई मुख्यमन्त्रीका लागि‘ग्रिन सिग्नल’प्राप्त भएको जानकारी दिनुभयो । ‘लगभग हुन्छ नै होला’मेन्याङ्वोले टेलिफोन सम्पर्कमा भन्नुभयो । उहाँले आफुले एमाले पार्टी अध्यक्ष केपी शर्मा ओलीसंग पनि भेट गरेको आशिंक प्रतिक्रिया दिनुभयो । हाल कोशी प्रदेशको मुख्यमन्त्री एमाले केन्द्रीय सचिव हिक्मतकुमार कार्की रहनु भएको छ् । एमाले र नेकपाबिच प्रदेश सरकारको सत्ता समिकरणको बिषयमा भएको सहमति अनुसार एमालेले कोशी प्रदेश सहित तीन प्रदेशको मुख्यमन्त्री पाउने छ । दुई प्रदेशमा नेपाली कम्युनिष्ट पार्टी र बाँकी दुई प्रदेशमा अन्य दलसंग समेत सहकार्य गरी सत्ता सञ्चालनको मार्ग तय गर्ने दुई दलको सहमति छ ।
नेकपा एमालेका केन्द्रीय सदस्य रहनु भएका मेन्याङ्वो एमाले ताप्लेजुङका इञ्चार्ज समेत हुनुहुन्छ । उहाँ यसअघि एमालेका पोलिटब्युरो सदस्य हुनुहुन्थ्यो । कोशीका मुख्यमन्त्री कार्की पछि एमालेका सबैभन्दा अगुवा नेताको रुपमा मेन्याङ्वो नै रहनु भएको छ । २०७९ सालको प्रदेशसभा निर्वाचनमा ताप्लेजुङ निर्वाचन क्षेत्र नं १(क)बाट प्रदेशसभा सदस्यमा निर्वाचित मेन्याङ्वोले यसअघि दुईपटकसम्म कोशी सरकारको खानेपानी सिचाँई तथा उर्जा मन्त्रालय सम्हालिई सक्नु भएको छ । उहाँले केहि समय कोशी सरकारको स्वास्थ्यमन्त्रीको जिम्मेवारी समेत सम्हाल्नु भएको थियो । नेपाली काँग्रेसका तत्कालिन जिल्ला सभापति तथा काँग्रेसका प्रभावशाली नेता सूर्यमान गुरुङलाई पराजित गरी मेन्याङ्वो २०५६ सालमा ताप्लेजुङ निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभामा निर्वाचित हुनु भएको थियो । गुरुङ २०६४ सालको संविधानसभाको निर्वाचनमा संविधानसभा सदस्यमा निर्वाचित भएपछि पछि उहाँ नेपाल सरकारको मन्त्री समेत हुनुभयो । हाल गुरुङको निधन भइसकेको छ ।
२०७९ सालमा मेन्याङ्वोले नेपाली काँग्रेस,तत्कालिन नेकपा(माओवादी केन्द्र) र तत्कालिन नेकपा एसको साझा गठबन्धनका उम्मेदवार नेकपा एसका खेमबहादुर वनेमलाई पराजित गर्दै प्रदेशसभा सदस्यमा निर्वाचित हुनु भएको थियो । मेन्याङ्वोले १२ हजार ७ सय ७२ मत प्राप्त गरी प्रदेशसभा सदस्यमा निर्वाचित हुँदा उहाँका निकटतम् प्रतिश्पर्धी वनेमले ८ हजार ७ सय ३३ मत ल्याउनु भएको थियो । एमालेका कुशल संगठक रहनु भएका मेन्याङ्वोले जिल्ला तहमा सचिव कार्यकारी रहने प्रणाली हुँदा एमाले ताप्लेजुङको लामो समय नेतृत्व गर्नु भएको थियो । पछि अध्यक्षतात्मक प्रणाली सुरु भएपछि पनि मेन्याङ्वोले एमाले ताप्लेजुङको अध्यक्ष भएर काम गर्नुभयो । २०६४ सालको संबिधानको सभाको निर्वाचनमा भने मेन्याङ्वो तेस्रो स्थानमा मात्र रहनुुभयो । २०५६ सालको निर्वाचनमा मेन्याङ्वोद्धारा पराजित गुरुङ संविधानसभा सदस्यमा निर्वाचित हुँदा तत्कालन नेकपा माओवादीका सुरेन्द्र कार्की(राम) निटकतम् प्रतिश्पर्धी हुनुभयो भने मेन्याङवो तेस्रो स्थानको मतमा सिमित हुनु भएको थियो ।