सम्भाव्यता अध्ययनबाट कफी खेति लगाउन उपयुक्त देखिएको क्षेत्रका नागरिकलाई निःशुल्क बिरुवा दिदैं मैवाखोला
खगेन्द्र अधिकारी
ताप्लेजुङ,साउन ९ । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले कफी खेतिका लागि सम्भाव्यता अध्ययनबाट उपयुक्त ठहरिएका क्षेत्रका लाभग्राहीलाई निःशुल्क रुपमा कफीका बिरुवा बितरण गर्ने भएको छ ।
पालिकाका कृषि विकास शाखा प्रमुख सुरेन्द्र राईका अनुुसार ह्युमन प्राक्टिस फाउण्डेसन(एचपिएफ) र कफी अभ्यास नेपालको आयोजना तथा गाउँपालिकाको सहकार्यमा लाभग्राहीलाई यही साउन १४ गते निःशुल्क रुपमा कफीका बिरुवा बितरण गरिने छ । पालिकाले कफी खेति सम्भाव्यता अध्ययन प्रतिबेदन अनुुसार कफी खेतिका लागि उपयुक्त भनि ठहरिएका क्षेत्रका लाभग्राहीलाई कफीका बिरुवा बितरण गर्ने छ । पालिकाका प्रमुख प्रशासकीय अधिकृत टसी शेर्पाका अनुसार वडा नं २ को १ हजार १ सय मिटर देखि १ हजार ५ सय मिटर उचाई क्षेत्रमा रहेको तेम्बे टोल देखि तल्लो क्षेत्र तथा १ हजार ३ सय मिटर उचाईसम्मको हात्तिखावा देखि तल्लो क्षेत्रका किसानलाई कफीका बिरुवा बितरण गरिने छ ।
समुद्र सतहबाट १ हजार ३ सय मिटर उचाईको वडा नं ३ स्थित माङहिमा टोल देखि तल्लो क्षेत्र तथा भट्टराई गाउँ देखि तल्लो क्षेत्रका लाभग्राहीलाई कफीका बिरुवा बितरण गरिने छ । समुद्र सतहबाट १ हजार ३ सय मिटर देखि १ हजार ४ सय मिटर उचाईमा रहेको वडा नं ४ स्थित रिफैले जाने बाटो घिमिरे गाउँ देखि तल्लो क्षेत्र,१ हजार ३ सय मिटर देखि १ हजार ४ सय ५० मिटरसम्मको उचाईको वडा नं ५ स्थित नुम्लोक देखि तल्लो क्षेत्र र १ हजार २ सय मिटर देखि १ हजार ३ सय ५० मिटर उचाईसम्मको वडा नं ५ स्थित घोरेटार फाकुम्बा देखि तल्लो क्षेत्रका लाभग्राहीलाई पालिकाले कफीका बिरुवा वितरण गर्ने छ । वडा नं ६ स्थित १ हजार २ सय मिटर देखि १ हजार ३ सय ५० मिटर उचाईसम्मको हाम्फाबुङ देखि तल्लो क्षेत्र र साङलुपा देखि तल्लो क्षेत्रका लाभग्राहीलाई समेत कफीका बिरुवा बितरण गरिने पालिकाले जनाएको छ ।
पालिका अध्यक्ष विजयप्रकाश वनेमका अनुसार पालिकाले यसअघि प्राविधिक टोली परिचालन गरी पालिकाका ६ वटै वडामा कफी खेति सम्वन्धी सम्भाव्यता अध्ययन गरी कफी खेति गर्न उपयुक्त क्षेत्र र उचाईको वास्तविक नतिजा निकालेको थियो । सम्भाव्यता अध्ययन पश्चात कफी खेति लगाउन उपयुक्त क्षेत्रको रुपमा पहिचान भएको क्षेत्रका नागरिकलाई लक्षित गरी कफीका बिरुवा बितरण गर्ने योजना पालिकाले बनाएको अध्यक्ष वनेमले जानकारी दिनुभयो ।