प्रनि यादव असार महिनाको उत्कृष्ट प्रहरी घोषित
खगेन्द्र अधिकारी
ताप्लेजुङ,साउन १० । नेपाल प्रहरीका प्रहरी निरीक्षक जटाशंकर यादव असार महिनाको उत्कृष्ट प्रहरी घोषित हुनु भएको छ ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले शान्ति सुरक्षा कायम,अपराध नियन्त्रण र सुक्ष्म अनुसन्धान र अपराध तथा कसुरमा संलग्न व्यक्तिहरुलाई नियन्त्रणमा लिई पीडितलाई न्याय दिलाउने कार्यमा यादवको निर्वाह गरेको भूमिकाको कदर गर्दै असार महिनाको उत्कृष्ट प्रहरी घोषित गरेको हो । ताप्लेजुङका प्रहरी प्रमुख(डिएसपी)उमेश जोशीले विभागीय मूल्य र मान्यता,आदेश निर्देशनको पालना गरी व्यवसायिक,लगनशिल र कर्तव्यनिष्ठ तवरले कर्तव्यपथमा तल्लिन रही उच्च मनोवलका साथ प्रहरी संगठनको खास कायम राख्न यादवले खेलेको भूमिको कदर गर्दै यादवलाई असार महिनाको उत्कृष्ट प्रहरीको रुपमा सम्मानित गरिएको जानकारी दिनुभयो ।
साउनको पहिलो साता ताप्लेजुङबाट सरुवा भई मधेस प्रदेश प्रादेशिक प्रहरी कार्यालय विरगञ्जमा कार्यरत रहनु भएका यादवले जिल्ला प्रहरी कार्यालय ताप्लेजुङमा रहँदा सूचना अधिकारी र अपराध अनुसन्धान शाखा प्रमुखको भूमिका समेत निर्वाह गर्नु भएको थियो । जिल्लाको शान्ति सुरक्षा कायम राख्न अग्रसर हुने,विपद् व्यवस्थापनका कार्यमा तत्काल परिचालित भई विपद्बाट हुने क्षति न्यूनीकरण गर्ने कार्यमा समेत प्रहरी निरीक्षक यादव सक्रिय प्रहरी अधिकारी रहेको जिल्ला प्रहरी कार्यालयले बताएको छ ।
यादवले जिल्लामा भएका घटनाका कसुरको सुक्ष्म अनुसन्धान गरी घटनामा संलग्न प्रतिवादीलाई तदारुकताका साथ खोज तलास गरी पक्राउ गरेर कानुनी दाहेरामा ल्याई पीडितलाई न्याय दिलाउने तथा अपराध नियन्त्रणका लागि समुदाय तथा सरोकारवालासंगको असल सहकार्य गरेको,समुदाय केन्द्रित कार्यक्रम सञ्चालन गरेको,जिल्ला प्रहरी कार्यालय ताप्लेजुङको पूर्वाधार विकासमा अतुलनीय योगदान दिएको तथा आफु मातहतका प्रहरी कर्मचारीको प्रभावकारी सुपरीवेक्षण र प्रहरी कर्मचारीको मनोवल बढाई सिङ्गो प्रहरी संगठनको हितका लागि काम गरेको भन्दै उनलाई असार महिनाको उत्कृष्ट प्रहरी घोषित गरिएको जिल्ला प्रहरी प्रमुख जोशीले बताउनुभयो ।