अघिल्लो आवमा ताप्लेजुङबाट झण्डै १९ करोड राजश्व संकलन
खगेन्द्र अधिकारी
ताप्लेजुङ,साउन ७ । आर्थिक बर्ष २०८२।८३ मा ताप्लेजुङबाट झण्डै १९ करोड हाराहारी राजश्व संकलन भएको छ ।
कोष तथा लेखा नियन्त्रक कार्यालय ताप्लेजुङका लेखापाल मनकुमार संग्रौलाका अनुसार एक आर्थिक बर्षमा १८ करोड ९३ लाख १८ हजार ३० रुपैयाँ राजश्व संकलन भएको छ । सबैभन्दा बढी राजश्व कोलेनिकामा जम्मा भएको देखिएको छ । कोलेनिकामा १५ करोड ७४ लाख ९६ हजार २ सय ८४ रुपैयाँ जम्मा भएको छ । जिल्ला प्रशासन कार्यालयबाट १ करोड २८ लाख २२ हजार ८ सय ७५ रुपैयाँ राजश्व जम्मा भएको छ ।
शिक्षा विकास तथा समन्वय इकाईबाट ३७ लाख ७६ हजार ३ सय ५० रुपैयाँ राजश्व जम्मा भएको कोलेनिकाले जनाएको छ । नापी कार्यालय ताप्लेजुङबाट ५५ लाख ८७ हजार ६ रुपैयाँ,कञ्चनजंघा संरक्षण क्षेत्र कार्यालयबाट ३२ लाख ५५ हजार २ सय ८३ रुपैयाँ,ताप्लेजुङ जिल्ला अदालतबाट ३१ लाख ५५ हजार ५ सय ७७ रुपैयाँ,तमोर करिडोर(मूलघाट–दोभान–ओलाङचुङगोला)सडक योजना कार्यालयबाट ९ लाख ९६ हजार ८ सय ८ रुपैयाँ,जिल्ला प्रहरी कार्यालयबाट ८ लाख १८ हजार ६ सय ८० रुपैयाँ,जिल्ला हुलाक कार्यालयबाट ६ लाख ६३ हजार ६ सय ४५ रुपैयाँ राजश्व संकलन भएको कोलेनिकाले जनाएको छ ।
ओलाङचुङगोला भन्सार कार्यालयबाट १ रुपैयाँ राजश्व असुली भएको कोलेनिकाको अभिलेखबाट देखिएको छ ।