ताप्लेजुङमा १३ जनाको उम्मेदवारी दर्ता
-उज्यालो पोष्ट
ताप्लेजुङ, माघ ६ । आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ताप्लेजुङमा तेह्र जनाको उम्मेदवारी दर्ता भएको छ । विभिन्न राजनीतिक दलका तर्फबाट १३ जनाले उम्मेदवारी (मनोनयन) दर्ता गराएको हुन् ।
जिल्लास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयले मंगलबारका लागि तोकिएको उम्मेदवारी दर्ता कार्यक्रमअनुसार विभिन्न दलका उम्मेदवारले उम्मेदवारी दर्ता गराएका जनाएको छ । निर्धारित समय बिहान १० देखि ५ बजेसम्ममा नेपाली काँग्रस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टीलगायत दलका उम्मेदवारले आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।
मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीस विकास श्रेष्ठका अनुसार नेपाली काँग्रेसका तर्फबाट गजेन्द्रप्रसाद तुम्याहाङले उम्मेदवारी दर्ता गर्नुभएको छ । काँग्रेस जिल्ला सभापति रहनुभएको तुम्याहाङको प्रस्तावकमा सञ्जय निरौला (गणेशबाबु) र समर्थकमा गणेशबहादुर लिम्बू रहनुभएको छ ।
यस्तै नेकपा एमालेका तर्फबाट क्षितिज थेबे र नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट खेलप्रसाद बुडाक्षेत्री (पराग) ले उम्मेदवारी दर्ता गर्नुभएको छ । थेबेको प्रस्तावकमा सन्तोष खतिवडा र समर्थकमा सन्तोष चाम्लिङ रहनुभएको छ । थेबे एमालेका केन्द्रीय सदस्य तथा राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष हुनुहुन्छ ।
त्यस्तैगरी, बुडाक्षेत्रीको प्रस्तावकमा विष्णुकुमार लिम्बू र समर्थकमा बमबहादुर भट्टराई (तारा) रहनुभएको छ । तत्कालीन नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज रहनुभएको बुडाक्षेत्री हाल नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य हुनुहुन्छ ।
त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट वीरेन्द्र श्रेष्ठ, राष्ट्रिय प्रजातन्त्र पार्टीका इन्द्रप्रसाद थापा, जनता समाजवादी पार्टी नेपालका सूर्य गुरुङ, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका तर्फबाट मुक्साम लाबुङ लिम्बूले उम्मेदवारी दर्ता गराउनुभएको छ । त्यसैगरी जनता समाजवादी पार्टीका तर्फबाट अरुण सुब्बा लेछर्बो र नेपाल जनमुक्ति पार्टीका इन्द्रकुमार लिम्बूले उम्मेदवारी दर्ता गर्नभएको छ ।
उज्यालो नेपाल पार्टीका तर्फबाट कीर्तिमान मादेन, श्रम संस्कृति पार्टीका सन्तोषकुमार राई, मंगोल नेसलन अर्गनाइजेसन नेपालका सन्तबहादुर लिम्बू र नेकपा (माओवादी) तर्फबाट नरपति पौडेलले उम्मेदवारी दर्ता गराउनुभएको मुख्य निर्वाचन अधिकृत श्रेष्ठले जानकारी दिनुभयो । उहाँकाअनुसार विभिन्न दलसम्बद्ध उम्मेदवारले मात्र उम्मेदवारी दर्ता गराएका छन् । त्यस्तै उम्मेदवारी दर्ता गर्नेमा सबैजना पुरुष रहनुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार उम्मेदवारी दर्ताको कार्य सम्पन्न भएसँगै बाँकी उम्मेदवारको नामावली प्रकाशन, दावीविरोध, अन्तिम नामावली प्रकाशसनसहितका प्रक्रिया अघि बढ्ने मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीस श्रेष्ठले जानकारी दिनुभयो । प्रतिनिधिसभा सदस्यका लागि ताप्लेजुङमा एउटा मात्र निर्वाचन क्षेत्र रहेको छ ।