| |

ताप्लेजुङमा ‘सिसेक्पा तङ्नाम’ भव्यरुपमा मनाइयो

-उज्यालो पोष्ट
ताप्लेजुङ, साउन १ । ताप्लेजुङमा लिम्बू समुदायले साउने सङ्क्रान्ति (सिसेक्पा तङ्नाम) भव्यरुपमा मनाएका छन् । लिम्बू समुदायले साउन १ गते शुक्रबार सिसेक्पा तङ्नाम अर्थात सङ्क्रान्ति पर्व याःलाङ (धान नाच) प्रस्तुतिसहित शुभकामना आदानप्रदान गरेर भव्य रुपमा मनाएका हुन् ।
साउने सङ्क्रान्तिलाई किराँत लिम्बू समुदायले ‘सिसेक्पा तङ्नाम’ भन्ने गर्दछन् । सिसेक्पा तङ्नाम अर्थात साउने सङ्क्रान्तिलाई किराँत लिम्बू समुदायले आफ्नो मौलिक पर्वका रुपमा मनाउने गर्दछन् । सिसेक्पा तङ्नाम अर्थात साउने सङ्क्रान्तिलाई मौलिक पर्वका रुपमा मनाउँदै आएको लिम्बू समुदायले यो वर्ष पनि भव्य मनाएका छन् ।
सिसेक्पा तङ्नामको अवसरमा शुक्रबार ताप्लेजुङमा लिम्बू समुदायले याःलाङ, केःलाङ (च्याब्रुङ नाच) जस्ता मौलिक संस्कृतिको प्रस्तुतिसहित शुभकामना आदानप्रदान गरेर मनाएका छन् । जिल्लास्थित किराँत याक्थुङ चुम्लुङको आयोजनामा सिसेक्पा तङ्नाम मनाइएको हो । चुम्लुङका जिल्ला सचिव सरोज कङ्लिबाले शुभकामना आदानप्रदानसँगै मौलिक साँस्कृतिक कार्यक्रम प्रदर्शन गरी सिसेक्पा तङ्नाम मनाएको बताउनुभयो ।
लिम्बू समुदायका तुम्याङ तथा अगुवा, चुम्लुङका पदाधिकारी तथा सदस्य, किराँत याक्थुङ कलाकार मञ्चका कलाकारहरु र अन्य सहभागीबिच शुभकामना आदानप्रदानसहितका गतिविधि गरेर सिसेक्पा तङ्नाम मनाइएको कङ्लिबाले बताउनुभयो । सिसेक्पा तङ्नामसहित मौलिक संस्कृति तथा पर्वको संरक्षण र प्रवर्धन गर्ने उद्देश्यले तङ्नाम कार्यक्रम आयोजना गरिएको उहाँले जानकारी दिनुभयो ।
सदरमुकाम फुङ्लिङमा आयोजित कार्यक्रममा लिम्बू समुदायका पुरुष तथा महिलाहरु मौलिक पहिरन, गरगाहना र जातीय भेषभूषा लगाएर सहभागी भएका थिए । यता सङ्क्रान्तिका दिन साँझपछि किराँत लिम्बू समुदायले आफ्नो इष्टदेवको सम्मानमा नयाँ पाकेको फलफूलहरु चढाउने गर्दछन् । अनिकाल हटाई सहकाल र समृद्धि भिœयाउने कामनासहित सिसेक्ता तङ्नाम मनाउने चलन रहेको पनि चुम्लुङका जिल्ला सचिव कङ्लिबाले जानकारी दिनुभयो ।
सङ्क्रान्ति अर्थात तङ्नामका दिन बिहानदेखि विशेष खानपानसँगै शुभकामना सहितका औपचारिक कार्यक्रमहरु गरेर पर्व मनाउने गरिएको छ । साँझ भने अन्न, फलफूल र कुरिल्लोको पातहरु सङ्कलन गरेर डोरीले बाँधेर ढोकामा झुन्ड्याउने गरिन्छ । हरियो बाबियोको डोरी बनाई अन्न, फलफूल र अन्य पातहरु लहरै सिउरेर घरको मूल ढोकामाथि झुण्ड्याउने परम्परा रहेको चुम्लुङ जिल्ला सचिव कङ्लिबाले बताउनुभयो ।
उहाँका अनुसार बेलुका खाना खाई सकेपछि छरछिमेक सबैले एकसाथ बन्दुक पड्काउने, थाल, झ्याम्टा, ढोल बजाउने, नाङ्लो ठटाउने लगायतका गतिविधि गरी सिसेक्पा तङ्नामको समापन गर्ने गरिएको पनि कङ्लिबाले बताउनुभयो । उक्त गतिविधिका कारण घर वा समाजमा भएको खराव तत्वको अन्त्य हुने मान्यता रहेको कङ्लिबाले जानकारी दिनुभयो ।
विशेषगरी किराँत लिम्बू समुदायले आफ्नो मौलिक पर्वका रुपमा किराँत लिम्बू समुदायले मनाउने सिसेक्पा तङ्नाम अन्य समुदायले पनि मनाउन गर्दछन् । लिम्बू समुदायले भने विशेष पर्वका रुपमा मनाउने गर्दछन् । ताप्लेजुङसहित पूर्वमा किराँत लिम्बू समुदायले सिसेक्पा तङ्नाम विविधि गतिविधि गरी भव्य रुपमा मनाउँदछन् ।

Similar Posts