राहत कोषमा पाथीभरा क्षेत्र विकासको १० लाख र संरक्षण समितिको १ लाख बढी सहयोग
उज्यालो पोष्ट
ताप्लेजुङ,भदौ १६ । पाथीभरा क्षेत्र विकास समितिले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा १० लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।
पाथीभरा क्षेत्र विकास समितिको सोमवारको बैठकले उक्त निर्णय गरेको क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङले जानकारी दिनुभयो । क्षेत्र विकास समितिको बैठकले विपद्को समयमा प्रभावित नागरिकको उद्धार तथा राहतका साथै सामाजिक गतिविधिमा सहयोग,असाहाय र अशक्त व्यक्तिका लागि आर्थिक सहायता,मेला,महोत्सव र खेलकुदका कार्यक्रममा सहयोग गर्न अब छुट्टै कार्यविधि बनाई कार्यविधि अनुसार सहयोग गर्ने निर्णय समेत गरेको छ ।
यता,समुदायस्तरबाट गठित पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा सम्र्वद्धन समितिका पदाधिकारी तथा सदस्यहरुबाट संकलित रकममा संस्थाको कोषबाट समेत सहयोग थप गरी कुल १ लाख १ हजार १११ रुपैयाँ बाढी पीडितका लागि सहयोग गर्ने घोषणा गरेको छ । समितिका अध्यक्ष सुरेश लिम्बूका अनुसार समितिका पदाधिकारी तथा सदस्यहरुबाट संकलित ६४ हजार ५५ रुपैयाँ र समितिको कोषबाट ३७ हजार ५६ रुपैयाँ गरी प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा १ लाख १ हजार १ सय ११ रुपैयाँ जम्मा गरिएको जानकारी दिनुभयो ।