दृष्टीबिहिन बिद्यार्थीको अध्ययन सहजताका लागि मैवाखोलाले दियो ल्यापटप,आय आर्जनमा समेत सहयोग पुग्ने विश्वास

खगेन्द्र अधिकारी
ताप्लेजुङ,असार १७ । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले फुङलिङस्थित पाथीभरा बहुमुखी क्याम्पसमा अध्ययरत बिद्यार्थी विकास लिम्बूलाई अध्ययन सहजता तथा आय आर्जनमा सहयोग पुग्नेगरी एकथान ल्यापटप हस्तान्तरण गरेको छ ।

विकास मैवाखोला गाउँपालिकाकै हुनुहुन्छ। पाथीभरा बहुमुखी क्याम्पसमा अध्ययरत उहाँको अध्ययन सहजता र आय आर्जनमा समेत सहयोग पुगोस् भन्ने उद्देश्यले ल्यापटप हस्तान्तरण गरिएको पालिका अध्यक्ष विजयप्रकाश वनेमले जानकारी दिनुभयो । बुधवार क्याम्पस प्रमुख सजन पौडेलको उपस्थितिमा क्याम्पसमै पुगेर पालिका अध्यक्ष वनेमले लिम्बूलाई उक्त ल्यापटप हस्तान्तरण गर्नु भएको हो । मैवाखोला गाउँपालिकाले सार्वजनिक शिक्षा सुधारको बिषयलाई प्रमुख प्राथमिकतामा राखेर विभिन्न कार्यक्रम गर्दै आइरहेको छ । पालिकाले अभिभावक शिक्षा,रेडियो शिक्षा कार्यक्रम देखि शिक्षक,बिद्यार्थी र अभिभावक प्रोत्साहन कार्यक्रम समेत पालिकाले सञ्चालन गर्दै आएको छ । यसअघि पालिकाले आगामी आर्थिक बर्ष २०८३।८४ का लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रममा समेत सार्वजनिक शिक्षा क्षेत्रको सुधार र गुणस्तरीय सिकाई प्रर्वद्धन कार्यक्रमलाई महत्व दिईएको छ ।

गत असार ९ गते पालिकाले आगामी आवका लागि प्रस्तुत गरेको बजेटमा पनि शिक्षा क्षेत्रको गुणात्मक विकासका लागि पर्याप्त मात्रामा बजेटको व्यवस्थापन गरिएको छ । पालिका अध्यक्ष वनेम लथालिङ्ग भएको सार्वजनिक शिक्षा सुधार नगरी पालिकाको सामाजिक विकास सम्भव नहुने बताउँनुहुन्छ् । शिक्षाको गुणस्तरीय सुधारले मात्र पालिकाको समग्र विकासमा योगदान पुग्ने पालिका अध्यक्ष वनेमको भनाई रहेको छ । पालिकाले पालिकाभरीका बिद्यालयहरुको पढाईको अवस्था,शैक्षिक सम्मेलनबाट पारित गरेको घोषणापत्र र बाचापत्र,पालिकाले तय गरेका शैक्षिक नीति,नियमावली र कार्यविधि अनुसार भए नभएको बारे नियमित अनुगमन गर्ने र शैक्षिक सुधारका योजना कार्यान्वयनमा तदारुकता दिने कार्य गरिरहेको पालिकाका शिक्षा अधिकृत(आठौं)लक्ष्मीमाया गोम्देन बताउँनुहुन्छ ।

Similar Posts