सिदिङ्वाले ल्यायो ५३ करोडको बजेट,५० युनिटसम्मको विद्युत महशुलको ५० प्रतिशत पालिकाले तिरिदिने
खगेन्द्र अधिकारी
ताप्लेजुङ,असार ७ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले आगामी आर्थिक बर्षका लागि ५३ करोड ८ लाख २६ हजार रुपैयाँको बजेट ल्याएको छ । आइतवार भएको १९ औं गाउँसभा अधिबेशनमा गाउँपालिका उपाध्यक्ष कृष्णकुमारी कडरिया(बन्दना)ले सभामा उक्त बराबरको बजेट पेश गर्नु भएको हो ।
कडरियाका अनुसार बजेट व्यहोर्ने स्रोतको रुपमा आन्तरिक आयतर्फ बैंक मौज्दातर्फ ८ करोड ९४ लाख १३ हजार १०५ रुपैयाँ,वित्तीय समानीकरण संघतर्फ १० करोड ५१ लाख,राजश्व बाँडफाँडतर्फ ८ करोड ५४ लाख २ हजार,वित्तीय समानीकरण प्रदेशतर्फ ९२ लाख ९४ हजार,राजश्व बाँडफाँड प्रदेश ६१ लाख ९३ हजार ८९५,रोयल्टी बाँडफाँड १ लाख ५० हजार,राजश्व बाँडफाँड स्थानीय ६ लाख,संघीय सर्शत अनुदान २० करोड ७४ लाख,नेपाल सरकार समपूरक अनुदान ८० लाख,संघीय सरकार बिशेष अनुदान १ करोड,प्रदेश सरकार सर्शत अनुदान ९२ लाख ७३ हजार रहेको छ । पालिकाले ५० युनिटसम्मको विद्युत खपतको ५० प्रतिशत महशुल तिरिदिने भएको छ । आगामी आर्थिक बर्ष २०८२।८३ को नीति,कार्यक्रम र बजेट प्रस्तुत गर्दै पालिकाले आगामी आव देखि ५० युनिटसम्मको विद्युत महशुलको ५० प्रतिशत रकम पालिकाले तिरिदिने घोषणा गरेको हो । पालिका अध्यक्ष मानबहादुर राईले आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै ‘एक घर एक करेसाबारी प्राङ्गारिक तरकारी’ नारासंगै पालिकाबासीलाई तरकारीबालीमा आत्मनिर्भर बनाउने घोषणा गर्नु भएको छ ।
स्थानीय उत्पादनको बृद्धि,कृषिको औद्योगिकरण र बजारीकरणका लागि गाउँपालिकाका नागरिकहरु,सिदिङ्वा गाउँपालिका थातथलो भई देश बिदेशमा रहेका सिदिङ्वाका नागरिकहरुले न्यूनतम् २ करोड सम्म लगानी गरी कम्तिमा १५÷२० जनालाई रोजगारी दिने गरी लगानी गर्ने भएमा गाउँपालिकाले बजारीकरणको व्यवस्थाका लागि ४० लाख रुपैयाँसम्म लगानी गर्ने भएको छ । पालिकाले हावापानी सुहाउँदो र रसायनिक बिषादी रहित खेति प्रणाली कार्यान्वयन गर्न‘स्वस्थ्य माटो,स्वस्थ्य उत्पादन,स्वस्थ्य भान्छा,स्वस्थ्य जीवन’भन्ने नारा ल्याएको छ । निर्वाहमुखी कृषि क्षेत्रमा आश्रित परिवारलाई व्यवसायमुखी बनाउन पालिकाले उत्पादनका आधारमा शीत भण्डार निर्माण गर्ने सहितको नीति ल्याएको छ । पालिकालाई केञ्जो अर्थात् पदमचालको राजधानीको रुपमा घोषणा गर्ने नीति पालिकाले लिएको छ । पालिकाले विगतमा दर्ता भएका तर कुनैपनि कारोवार नगरी निश्कृय रहेका सहकारीलाई सक्रिय देखि खारेजगर्ने सम्मको नीति लिएको जनाएको छ । पालिकाले कक्षा १२ सम्मको शिक्षालाई पूर्ण निःशुल्क गर्दै कक्षा ११ र १२ को परीक्षा शुल्क तथा रजिष्ट्रेशन वापतको शुल्क पालिकाले तिरिदिने घोषणा गरेको छ ।
मासिक परीक्षाका आधारमा उत्कृष्ट शिक्षक तथा उत्कृष्ट बिद्यार्थीलाई पुरस्कृत गर्ने तथा उत्कृष्ट नतिजाका आधारमा बिद्यार्थी,शिक्षक,प्रधानाध्यापक र बिद्यालय व्यवस्थापन समितिका अध्यक्षलाई पुरस्कृत गर्ने पालिकाको नीति रहेको छ । पालिकाले एमबिबिएस अध्ययन,प्राविधिक धारतर्फका बिषय अध्ययन र गणित विज्ञान बिषय अध्ययनका लागि पालिकाले छात्राबृत्ति दिने घोषणा गरेको छ । ‘सिदिङ्वाका बाबु नानी,बनाउँछौं ज्ञानी’भन्ने नारा तय गर्दै पालिकाले आधारभूत तहबाटै प्रभावकारी सिकाई र गुणस्तरीय नतिजा प्राप्त गर्नेगरी आवश्यक कार्यक्रम तय गर्ने भनेको छ । पालिकाले आव २०८३।८४ सम्ममा पालिकालाई फुसको छानो बिस्थापन भएको पालिका बनाउने घोषणा गरेको छ । पालिकाले पालिकाका बर्थिङ सेन्टरमा सुत्केरी गराउने सुत्केरी आमालाई पौष्टिक आहारका लागि जनही ३ हजार रुपैयाँका दरले नगद रकम उपलब्ध गराउने भएको छ । पालिका क्षेत्रका पानीका मुहानहरुको संरक्षण गर्न पालिकाले मुहान क्षेत्रमा डोजर लगाउने तथा सिमेन्ट लगाउने जस्ता कार्यलाई पूर्ण प्रतिवन्ध लगाउने घोषणा गरेको छ । पालिकाले प्रादेशिक,राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका खेलकुदका माध्यमबाट पहिचान स्थापित गरिसकेका खेलाडीलाई सम्मान गर्ने व्यवस्थालाई संस्थागत गर्ने भएको छ ।
पालिकाले ‘गाउँ आयो विकास,तर मानिस पसे शहर’भन्ने तितो यर्थाततालाई मध्यनजर गरी सिदिङ्वा गाउँपालिका थातथलो भई अन्यत्र बसाँइ सरी गएकालाई पुनः गाउँपालिका फिर्न चाहनेलाई रोजगारी,कृषि,अनुदान,स्वास्थ्य बीमा र नागरिक आवास कार्यक्रममा प्राथमिकता दिइने छ । पालिकाको कार्यालय र वडा कार्यालयबाट प्रवाह हुने सेवा,उक्त सेवा प्राप्तिका लागि आवश्यक पर्ने कागजात,सेवा प्राप्तिका लागि लाग्ने समय र लागत,सेवा प्रवाहको जिम्मेवारी पाएका पदाधिकारी तथा कर्मचारीको विवरण जस्ता बिषयमा घरघरबाटै जानकारी होस् भन्ने उद्देश्यले पालिकाले यससम्वन्धी नोटबुक प्रकाशन गरी सिदिङ्वमा गाउँपालिकाका घर–घरमा पु¥याउने घोषणा गरेको छ । पालिकाले वित्तीय सुशासनको मुख्य सूचक शुन्य बेरुजु रहेको तथ्यलाई स्वीकार गर्दै सम्वद्ध पक्षलाई सुसूचित गर्ने र तोकिएको समयसीमा भित्र बेरुजु फस्र्योट नगर्नेलाई आवश्यक कारवाही अघि बढाउने समेत घोषणा गरेको छ ।