बालबिबाह न्यूनीकरणका लागि बिद्यालय तहमा सचेतनाका कार्यक्रम आवश्यक: सरोकारवाला

उज्यालो पोष्ट
ताप्लेजुङ,जेठ ३१ । ताप्लेजुङको फुङलिङ नगरपालिकाका सरोकारवालाले कानुनी सचेतना तथा बालबिबाह न्यूनीकरण सम्वन्धी कार्यक्रम बिद्यालय तहमा समेत केन्द्रित गर्नुपर्ने बताएका छन् ।

फुङलिङ नगरपालिकाले सञ्चालन गरेको न्यायिक सचेतना कार्यक्रमका क्रममा सरोकारवालाले बालबिबाहको समस्याले समाज जकडिएको बताउँदै बालबिबाह न्यूनीकरण सम्वन्धी कार्यक्रम बिद्यालयको आधारभूत र माध्यमिक तहसम्म लैजानुपर्ने बताएका छन् । फुङलिङ नगरपालिका वडा नं ७ र ८ लाई लक्षित गरी वडा नं ८ को वडा कार्यालयमा आइतवार आयोजित कानुनी सचेतना कार्यक्रममा सहभागी युवाबर्ष माविका शिक्षक सुरेश निरौलाले कानुनले बन्देज गरेको भएपनि बालबिबाह रोकिन नसकेको बताउँदै लक्षित वर्गलाई समेटेर बालबिबाह सम्वन्धी कानुनी सचेतनाका कार्यक्रम आवश्यक भएको बताउनुभयो । युवाबर्ष माविकै शिक्षक अञ्चल नाल्वोले बालबिबाह गर्न हुँदैन भनेर ज्ञान प्रवाह भइरहेपनि बिद्यालयका बिद्यार्थी लक्षित कार्यक्रममार्फत बाल बिबाह न्यूनीकरणका प्रयास सम्भव हुने बताउनुभयो । मयाम मावि फुरुम्बुका प्रधानाध्यापक नवीन कार्की बालबिबाह गैर कानुनी काम हो भन्ने जान्दा जान्दै उमेरै नपुगी बिबाह गर्न प्रचलन रोकिन नसकेको बताउँनुहुन्छ । बालबिबाह गैर कानुनी कार्य भएकोले यस्ता कार्य गर्न हुन्न भनेर लक्षित समूहका बिद्यार्थीमाझ सचेतना र जागरणका कार्यक्रम आवश्यक भएको कार्कीको भनाई छ ।

फुङलिङ नगरपालिका वडा नं ९ का वडाध्यक्ष लक्षुमन गुरुङ बालबिबाह न्यूनीकरण मात्र नभई निवारण नै नगरी नहुने अवस्थामा पुगेको बताउँदै बिद्यार्थी लक्षित कार्यक्रम आवश्यक रहेको आफ्नो पनि महशुष रहेको बताउँनुहुन्छ । अधिवक्ता राजेन्द्र श्रेष्ठका अनुसार कानुनले उमेर २० वर्ष नपुगी कसैले विवाह गरे वा गराएमा विवाह स्वतः बदर हुने व्यवस्था गरेको छ । कसुर गर्ने जो कोही व्यक्तिलाई तीनवर्ष सम्म कैद र तीस हजारसम्म जरिवाना हुने कानूनी व्यवस्था गरिएको श्रेष्ठले बताउनुभयो । विवाह गर्ने उमेर विवाह गर्ने व्यक्तिको (महिला र पुरुष दुवैको)बीस वर्ष हदम्याद हो भने बालबिवाह भएको थाहा पाएको मितिले ३ महिनासम्म बाल विवाहको उजुर दिन सक्ने व्यवस्था रहेको छ ।

बालबालिका सम्वन्धि ऐन २०७५ को उपदफा ६(२) (ण) अनुसार बालबालिकासँग विवाह गर्नु गराउनु बालबालिका विरुद्धको कसुर मानेको छ । सोहि ऐनको दफा ६७ अनुसार त्यस्तो कसुर गरेको ठहरेका व्यक्तिहरुले दशबर्षसम्म बालबालिकासँग सम्बन्धित सार्वजनिक तथा निजि क्षेत्रमा काम गर्न,मनोनित हुन,वा निर्वाचित हुन पाउँदैनन् । फुङलिङ नगरपालिकाका उपप्रमुख तथा न्यायिक समिति संयोजक भीमादेवी ओझा उमेरै नपुगी बिबाह गर्दा अपरिपक्व शरिर र मानसिकता,शारिरीक अक्षमता,पारिवारिक बेमेल जस्ता समस्या निम्तने भएकोले यसमा बालबालिका र उनीहरुका अभिभावक सचेत हुनुपर्ने बताउँनुहुन्छ । आफुहरुले आगामी बर्षका कार्यक्रममा बालबिबाह न्यूनीकरणका लागि सचेतना र जागरणका कार्यक्रमलाई प्राथमिकता दिने योजना बनाएको ओझाले बताउनुभयो ।

Similar Posts