सामुदायिक वनका उपभोक्तालाई तालिम दिन सुरु

-उज्यालो पोष्ट
ताप्लेजुङ, फागुन २२ । ताप्लेजुङमा सामुदायिक वन समूहका उपभोक्ताको क्षमता अभिवृद्धि गर्न तालिम दिन थालिएको छ । समूहका उपभोक्तालाई लैंगिक समानता र लेखा व्यवस्थापनसम्बन्धी तालिम दिन सुरु गरिएको हो ।
सामुदायिक वन उपभोक्ता महासंघ नेपाल ताप्लेजुङले स्थानीय उपभोक्ताको क्षमता अभिवृद्धि गर्न तालिम दिन थालेको हो । जिल्लाको फक्ताङ्लुङ गाउँपालिका, सिरिजंघा, मिक्वाखोला र सिदिङ्वा गाउँपालिकाका गरी २० जना उपभोक्तालाई तालिम दिन सुरु गरिएको महासंघका जिल्ला अध्यक्ष सुरज ओझाले जानकारी दिनुभयो ।
उक्त चार पालिका (स्थानीय तह) का उपभोक्ता र महासंघका पदाधिकारी समेतको तालिममा सहभागिता रहेको छ । सहभागीमध्ये ११ जना पुरुष र नौ जना महिला रहेका पनि महासंघका जिल्ला अध्यक्ष ओझाले बताउनुभयो । यता तालिममा लेखा व्यवस्थापनसम्बन्धी अर्जुन चौहान र लैंगिक समानतासम्बन्धी सन्तोष प्रसाईले सहजीकरण गर्दै आउनुभएको छ ।
त्यस्तै तालिमको सहजीकरणमा एनसाप नेपालका ताप्लेजुङ प्रतिनिधि आयुस भट्टराईले पनि सहयोग गरिरहनुभएको छ । तालिम शनिबार सम्पन्न हुने सामुदायिक वन उपभोक्ता महासंघ नेपाल ताप्लेजुङले जनाएको छ ।