| |

वनमा लागेको डढेलोले डुम्रिसेमा तीन घर जल्यो

-उज्यालो पोष्ट
ताप्लेजुङ, चैत ३ । ताप्लेजुङमा वनमा लागेको डढेलोले तीन वटा घरसहितका संरचना जलेर नस्ट भएका छन् । प्रहरीका अनुसार पाथीभरा याङ्वरक गाउँपालिका–४ डुम्रिसेमा वनमा लागेको डढेलोले स्थानीयका घर तथा अन्य संरचना जलेर नस्ट भएका हुन् ।
ताप्लेजुङका प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक राजन लिम्बूका अनुसार शनिबार वनमा लागेको डढेलोले डुम्रिसेका स्थानीय अमृत बस्नेतको घर र मतान जलेर नस्ट भएको छ । घर नजिक रहेको वनमा लागेको डढेलोले बस्नेतको ढुंगा, माटो, काठ र जस्तापाताले निर्माण गरिएको तीनतले घर जलेको प्रनाउ लिम्बूले जानकारी दिनुभयो ।
उहाँका अनुसार वनमा लागेको डढेलोले शनिबार दिउँसो २ः३० बजेतिर बस्नेतको घर र मतानघर जल्दा ४० लाख रुपियाँ बराबरको क्षति भएको छ । आगलागीबाट बस्नेतको घरमा रहेको एकलाख ५० हजार रुपियाँ नगद, पाँच तोला बराबरको सुनका गरगहाना, अन्नपात, भाँडावर्तन, लत्ताकपडा लगायतका सम्पूर्ण सामग्री जलेको छ ।
यस्तै डुम्रिसेकै सल्लेरी सामुदायिक वनमा लागेको डढेलोले शुक्रबार स्थानीय मंगलसिंह साम्सोहाङ र चन्द्रबहादुर साम्सोहाङको घर जलेर नस्ट भएको छ । सामुदायिक वनमा लागेको डढेलोको आगोको झिल्काले मंगलसिंहको ढुंगा र माटोले बनेको घर र बस्तुगोठ तथा चन्द्रबहादुरको घर शुक्रबार दिउँसो जलेर नस्ट भएको प्रनाउ लिम्बूले जानकारी दिनुभयो ।
उहाँकाअनुसारमंगलसिंहको घरमा भएको नगद ३५ हजार रुपियाँ, केही सुन र चाँदीका गरगहाना, खाद्यान्न, भाँडावर्तन, लत्ताकपडा लगायतका सामग्री र दुईवटा बङ्गुर जलेर नस्ट हुँदा आठ लाख रुपियाँ बराबरको क्षति हुन गएको छ । यस्तै चन्द्रबहादुरको घरमा भएको खाद्यान्न, भाँडावर्तन, लत्ताकपडा लगायतका सामग्री जलेर नस्ट हुँदा सात लाख रुपियाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
त्यस्तैगरी शुक्रबार नै सिरिजंघा गाउँपालिका–१ सिनामको भैँसेटोलमा वनमा लागेको डढेलोले खानेपानीको पाइप जलेको छ । सो टोलमा लागेको डढेलोले ४० एमएमको करिव दुई हजार मिटर लामो खानेपानीको पाइप जलेर नस्ट हुँदा दुई लाख ४० हजार रुपियाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ । खानेपानीको पाइप जलेर नस्ट हुँदा भैँसे टोलका दर्जनौ परिवार खानेपानीबाट बञ्चित भएका जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
यता सुख्खा मौसमसँगै ताप्लेजुङमा पछिल्लो दुई सातायता विभिन्न क्षेत्रका डेढ दर्जन बढी ठाउँमा वनमा डढेलो लागेको छ । हालसम्म जिल्लाका ५०० हेक्टर बढी वनको क्षेत्रफलमा डढेलो लागिसकेको डिभिजन वन कार्यालय ताप्लेजुङले जनाएको छ । वन कार्यालयका अनुसार अहिले दिन प्रतिदिन राष्ट्रिय तथा सामुदायिक वनमा डढेलो लाग्ने क्रम रहेको छ ।

Similar Posts