मैवाखोलाका बिद्यालय आइतवार पनि खोल्न शिक्षककै दबाब,संघीय सरकारले संविधानकै हस्तक्षेप गरेको छ:पालिका

खगेन्द्र अधिकारी
ताप्लेजुङ,बैशाख २४ । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले पालिका क्षेत्रका बिद्यालय आइतवार पनि लगाउने वा बिदा कायम रहने बिषयमा ‘हेर र पर्खको’रणनीति अख्तियार गरेको बताएको छ ।

शिक्षक स्वयंले आइतवार पनि विद्यालय सञ्चालन गरी विपद्को जोखिम समय मध्य असारका बेला बिद्यालय बिदा गर्नु उचित हुने राय दिएका थिए । पालिकाले आयोजना गरेको सार्वजनिक सुनुवाईका क्रममा शिक्षक स्वयंले पाठ्यक्रम,पाठ्य घण्टा र बिद्यालयको सिकाई सुधारका लागि आइतवार बिद्यालय बिदा गर्न उपयुक्त नहुने राय राखेका छन् । शिक्षक हरिकुमार तामाङले आइतवार सहितको बिदाले पाठ्यक्रम र पाठ्य बिषयबस्तुलाई समेट्न गाह्रो हुने बताउनुभयो ।‘प्राकृतिक हिसावले बाढी र पहिरोको जोखिम रहने समय मध्य असारमा बरु बर्षे बिदा गरौं,आइतवार विद्यालय लगाऔं’शिक्षक तामाङले गाउँ शिक्षा समितिसंग यस्तो माग गर्नु भएको छ । पालिका अध्यक्ष तथा गाउँ शिक्षा समितिका अध्यक्ष विजयप्रकाश वनेमले माध्यमिक तहसम्मको शिक्षाको एकल अधिकार स्थानीय सरकारको भएपनि संघीय सरकारले स्थानीय तहको उक्त अधिकार माथि हस्तक्षेप गरेर ‘पपुलिजम र हिरोइजम’हुन खोजेको आरोप लगाउनुभयो । उहाँले पाठ्यक्रम र पाठ्य घण्टाका आधारमा आइतवारको बिदा अनुपयुक्त हुने सुझाव पालिकाका सरोकारवालाबाट आउन थालेको भन्दै पालिका अध्यक्ष वनेमले पालिका शिक्षा समिति यसका बिषयमा केहि समय पछि निर्णयमा पुग्ने बताउनुभयो ।

सेवाग्राही ९ बजे नै सेवा लिनका लागि कार्यालयमा आउन समेत भूगोलको हिसावले कठिन रहेको र सातामा दुईदिनको बिदा अव्यहारिक रहेको भन्दै यहाँको आठराई त्रिबेणी गाउँपालिकाले भने आइतवार पनि कार्यालय र बिद्यालय सञ्चालन गर्दै आइरहेको छ । आठराई त्रिबेणीमा पालिका मातहतका सरकारी कार्यालय र बिद्यालयहरु आइतवार पनि सञ्चालन हुँदै आएका छन् । सिरिजङ्गा गाउँपालिकाले पनि प्रत्येक साताको आइतवार पनि पालिकाका बिद्यालयहरु सञ्चालन हुँने निर्णय कार्यान्वयनमा ल्याएको छ । सिरिजङ्गा गाउँपालिका अध्यक्ष लालकृष्ण चौहानले पाठ्यक्रम र पाठ्यबस्तुको गहनतालाई ध्यानमा राखेर आइतवार पनि बिद्यालय सञ्चालन गर्न थालिएको बताउनुभयो । मैवाखोला गाउँपालिकाले प्रदान गर्ने बस्तु तथा सेवा बितरणको अवस्थाका बारेमा जनताको गुनासो,राय तथा सल्लाह लिनका लागि पालिकाले प्रत्येक वडामा सार्वजनिक सुनुवाई कार्यक्रम गर्दै आएको छ ।

पालिका अध्यक्ष वनेमका अनुसार वगाडत रुपमा सार्वजनिक सुनुवाई गर्नु अघि तटस्थ तथा स्वतन्त्र व्यक्तिद्धारा जनताको अभिमत संकलन गरिएको थियो । ६ वटा वडा रहेको मैवाखोलाका प्रत्येक वडाका कम्तिमा ५० घरधुरीमा पुगी निर्गम अभिमत,बर्हिगमित अभिमत,सेवा सन्तुष्टी,पारदर्शीता र सुशासन,पूर्वाधार विकास,कार्यालयको भौतिक अवस्था र सफाई,कार्यालयमा कर्मचारीको नियमिमता,विकास निर्माणका कार्यमा पालिका र वडाबाट पाएको सहयोग,प्राविधिक सहयोग सहितका बिषयमा जनमत संकलन गरिएको पत्रकार महासंघ ताप्लेजुङका अध्यक्ष सुवास आचार्य बताउँनुहुन्छ । सार्वजनिक सुनुवाई कार्यक्रमको सहजीकरण पत्रकार महासंघ ताप्लेजुङमार्फत भइरहेको छ ।

पालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीमाया गोम्देनका अनुसार सार्वजनिक सुनुवाईमार्फत संकलन भएका अभिमत र सार्वजनिक सुनुवाईका क्रममा उठेका सवाल र सेवाग्राहीले औंल्याएका गुनासाको उचित सुनुवाई गरी सेवा प्रवाह थप चुस्त बनाउने अभिप्रायका साथ सार्वजनिक सुनुवाई कार्यक्रम गरिएको हो । सार्वजनिक सुनुवाईका क्रममा पालिका अध्यक्ष वनेमले नीतिगत तथा संस्थागत बिषय,उपाध्यक्ष कमलकुमारी लिम्बूले अनुगमन तथा न्यायिक कार्य सम्पादन,प्रमुख प्रशासकीय अधिकृत गोम्देनले प्रशासनिक तथा कार्यालयगत समस्याका बारेमा उठेका सवालको सम्बोधन तथा पालिकाका बिषयगत शाखाका प्रमुखहरुले सम्वन्धित शाखाका बारेमा उठेका सवाल र प्रश्नको समाधान गर्दै आउनु भएको छ ।

Similar Posts