घुम्ती शिविरबाट २५ सय बढी सेवाग्राही लाभान्वित
-उज्यालो पोष्ट
ताप्लेजुङ, बैशाख २४ । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले सञ्चालन गरेको एकीकृत घुम्ती शिविरबाट दुई हजार पाँचसय बढी सेवाग्राही लाभान्वित भएका छन् । सोमबारदेखि सुरु गरिएको घुम्ती शिविरबाट बुधबार सम्ममा उक्त सङ्ख्यामा सेवाग्राही लाभान्वित भएका हुन् ।
गाउँपालिकाका छ वटै वडामा सञ्चालन गर्नेगरी सुरु गरिएको एकीकृत घुम्ती शिविरको तेस्रो दिन बुधबार वडा नम्बर ६ फाकुम्बामा सम्पन्न भएको छ । पहिलो दिन सोमबार वडा नम्बर १ र दोस्रो दिन मंगलबार वडा नम्बर २ ढुंगेसाँघुमा शिविर सञ्चालन गरिएको थियो । तीन वटा वडामा शिविर सम्पन्न भइसक्दा कुल दुई हजार ५४५ जना सेवाग्राही लाभान्वित भएका छन् ।
बुधबार फाकुम्बामा सम्पन्न भएको घुम्ती शिविरमार्फत ८२४ जना सेवाग्राहीले सेवा लिएका छन् । यसअघि वडा १ मा सञ्चालित घुम्ती शिविरबाट ८८३ जना र वडा २ ढुंगेसाँघुमा ८३८ जना सेवाग्राहीले सेवा प्राप्त गरेका थिए ।
घुम्ती शिविरमार्फत गाउँपालिका कार्यालयबाट प्रदान गरिने सबैखाले सेवाहरु प्रवाह गरिँदै आएको निमित्त प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीमाया गोम्देनले जानकारी दिनुभयो । गोम्देनका अनुसार प्रशासन शाखा, स्वास्थ्य शाखा, पञ्जीकरण शाखा, कृषि विकास शाखा, पशु सेवासहित विभिन्न १३ वटा शाखाअन्तर्गत प्रदान गरिने सेवाहरु शिविरमार्फत प्रवाह गरिएको छ ।
गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमका अनुसार पालिकावासी जनता अर्थात सेवाग्राहीलाई घरआँगनमै पुगेर सेवा प्रदान गर्ने उद्देश्यले एकीकृत घुम्ती शिविर आयोजना गरिएको हो । अध्यक्ष वनेमका अनुसार घुम्ती शिविरसँगै जनताको चासो र गुनासोहरु सुन्ने उद्देश्यले सार्वजनिक सुनुवाइृ कार्यक्रमसमेत सञ्चालन गरिँदै आएको छ ।