निर्वाचन खर्चको बिबरण बुझाउन स्थानीय तहका उम्मेदवारलाइ ताप्लेजुङ निर्वाचन कार्यालयद्धारा तागेता
खगेन्द्र अधिकारी
ताप्लेजुङ,जेठ २४ । जिल्ला निर्वाचन कार्यालय ताप्लेजुङले निर्वाचन खर्चको बिबरण बुझाउन स्थानीय तहको निर्वाचनका उम्मेदवार वा निजका प्रतिनिधिलाइ आग्रह गरेको छ ।
जिल्ला निर्वाचन अधिकारी दिनेश खनालले निर्वाचन अवधिमा भएको निर्वाचन खर्चको बिबरण निर्वाचन परिणाम घोषणा भएको ३० दिन भित्र बुझाइसक्नुपर्ने व्यवस्था रहेको भन्दै निर्वाचन खर्चको बिबरण बुझाउन स्थानीय तहको निर्वाचनका उम्मेदवार वा निजका प्रतिनिधिलाइ आग्रह गर्नु भएको छ । स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा ६४(४) तथा स्थानीय तह निर्वाचन नियमावली २०७३ को नियम ४०) बमोजिम निर्वाचन खर्चको बिबरण सम्वन्धित जिल्लाको निर्वाचन कार्यालयमा बुझाउनुपर्ने व्यवस्था रहेको छ । सो अनुसार स्थानीय तह सदस्य निर्वाचन २०७९ ताप्लेजुङ जिल्लामा रहेका नगरपालिका र गाउँपालिकाका बिभिन्न पदमा उम्मेदवार दर्ता गराई निर्वाचन चिन्ह लिएका उम्मेदवारहरुले आफुले गरेको निर्वाचन खर्चको बिबरण निर्वाचन परिणाम घोषणा भएको ३० दिन भित्र सम्वन्धित जिल्ला निर्वाचन कार्यालयमा बुझाउनुपर्ने हुन्छ ।
ऐन अनुसार स्थानीय तह सदस्य निर्वाचन २०७९ का लागि गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षले बढीमा ३ लाख ५० हजार र वडाअध्यक्ष र वडासदस्यहरुले बढीमा १ लाख ५० हजार रुपैंया सम्म खर्च गर्न पाउने व्यवस्था रहेको थियो । यस्तै नगरपालिकाका प्रमुख,उपप्रमुखले बढीमा ४ लाख ५० हजार र वडाध्यक्ष तथा सदस्यहरुले बढीमा २ लाख ५० हजार रुपैंया सम्म खर्च गर्न पाउने निर्वाचन खर्चको सीमा थियो । नगर तथा गाउँ कार्यपालिकाका सदस्यहरुले एकमुष्ठ रुपमा २५ हजार रुपैंया सम्म खर्च गर्न पाउने सीमा रहेको छ । यस्तै जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुखले ५० हजार र सदस्यहरुले २५ हजार रुपैंया सम्म खर्च गर्न पाउने छन् ।