| |

सिरिजंघा गाउँपालिकाका विद्यालय आइतबार पनि खुल्ने

-उज्यालो पोष्ट
ताप्लेजुङ, बैशाख १९ । ताप्लेजुङको सिरिजंघा गाउँपालिकाका विद्यालय आइतबार पनि खुल्ने भएका छन् । संघीय सरकारले हप्ताको दुई दिन शनिबार र आइतबार सार्वजनिक विदा दिने निर्णय गरेको भए पनि सिरिजंघाका विद्यालय आइतबार पनि खुल्ने भएका हुन् ।
सिरिजंघा गाउँपालिकाले साविक झैं शनिबार एक दिन मात्र सार्वजनिक विदा दिने र आइतबार विद्यालय खुलाउने निर्णय गरेको हो । पठनपाठनमा असहजता आउने देखिएपछि गएको मङ्गलबारको कार्यपालिका बैठकले आइतबार पनि विद्यालय खुलाउने निर्णय गरेको गाउँपालिकाका शिक्षा अधिकृत डिल्लीराज खड्काले जानकारी दिनुभयो ।
शिक्षा अधिकृत खड्काका अनुसार कार्यपालिकाको बैठकले निर्णय गरेसँगै पालिकाभित्रका शैक्षिक संस्थाहरु अर्थात विद्यालय आइतबार पनि खुल्ने भएको छ । विद्यमान पाठ्क्रममा तोकिएको पाठ्यभार पूरा नहुने अवस्था आउने देखिएपछि पालिकाले आइतबार पनि विद्यालय खुलाउने निर्णय गरेको उहाँले जानकारी दिनुभयो ।
यस्तै हिमाली भू–भाग रहेको क्षेत्र तथा भौगोलिक विकटताका कारणले पनि आइतबार शैक्षिक संस्थाहरु खुलाउने निर्णय गरिएको गाउँपालिका उपाध्यक्ष डाक्टर चित्रकुमार माबो लिम्बूले जानकारी दिनुभयो । पढाइको कोर्ष पूरा नहुने र मौसमी अवस्थाले सबैतिर एउटै समय तथा अवधिसम्म विद्यालय खुल्ने स्थिति नहुँदा पढाइमा गम्भीर असर पुग्ने भएकाले आइतबार पनि विद्यालय खुलाउने निर्णय गरिएको उपाध्यक्ष डा. लिम्बूको भनाइ छ ।
उहाँका अनुसार कार्यपालिकाको बैठकबाट आइतबार शैक्षिक संस्थाहरु खुलाउने निर्णय भएसँगै निर्णय कार्यान्वयनका लागि पालिकाभित्रका विद्यालयलाई पत्राचार गरिसकिएको छ । सिरिजंघा गाउँपालिकाभित्र नौ वटा माध्यमिक तह र अन्य आधारभूत तहका गरी ४२ वटा सामुदायिक विद्यालय रहेका छन् । पालिकाका अनुसार केही निजी विद्यालय (बोर्डिङ) समेत सञ्चालित रहेका छन् ।
यता सरकारले यसअघि चैत २३ गतेदेखि लागु हुनेगरी सरकारी कार्यालय तथा शैक्षिक संस्थाहरुमा हप्ताको दुई दिन शनिबार र आइतबार सार्वजनिक विदा दिने निर्णय गरेको थियो । सरकारको उक्त निर्णयको सूचना राजपत्रमा प्रकाशित भएपछि शिक्षा तथा मानव स्रोत विकास केन्द्रले देशभरका शैक्षिक संस्थालाई निर्णय कार्यान्वयनका लागि परिपत्र गरेको थियो ।
यस्तै सरकारकै निर्णयअनुसार यही बैशाख १५ गतेदेखि विद्यालयहरुले विद्यार्थी भर्ना अभियान सुरु गरेका छन् । विद्यालयको पठनपाठन भने बैशाख २१ गते सोमबारदेखि सुरु हुने छ । जिल्ला सदरमुकामका बोर्डिङहरुले भने बैशाख दोस्रो साताको सुरुदेखि पठनपाठन सञ्चालन गरिरहेका छन् ।

Similar Posts