घर आँगनबाटै सेवा प्रवाह गर्न घुम्ती शिविरको तयारी
-प्रयास लिम्बू
ताप्लेजुङ, बैशाख १९ । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले घर आँगनमै पुगेर जनतालाई सेवा प्रवाह गर्न घुम्ती शिविर सञ्चालन गर्ने भएको छ । गाउँपालिका कार्यालयबाट प्रवाह हुने सेवा जनता अर्थात सेवाग्राहीको घर आँगनमा पुगेर प्रदान गर्ने गरी एकीकृत घुम्ती शिविर सञ्चालनको तयारी गरिएको हो ।
गाउँपालिकाकी निमित्त प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीमाया गोम्देनका अनुसार यही बैशाख २१ गते सोमबारदेखि एकीकृत घुम्ती शिविर सञ्चालन गर्ने तयारी गरिएको छ । प्रत्येक वडामा पुगेर एकीकृत घुम्ती शिविर सञ्चालन गरिने निमित्त प्रमुख प्रशासकीय अधिकृत गोम्देनले जानकारी दिनुभयो ।
उहाँका अनुसार छ वडा रहेको पालिकाको प्रशासकीय केन्द्र वडा नम्बर ३ साँघुबाहेक अन्य वडामा बैशाख २५ गतेसम्म निरन्तर घुम्ती शिविर सञ्चालन हुने छ । प्रत्येक वडामा एक दिने एकीकृत घुम्ती शिविर सञ्चालन गरिने उहाँले जानकारी दिनुभयो । प्रशासकीय केन्द्र रहेको वडामा भने बैशाख ३० गते शिविर सञ्चालन गरिने उहाँले बताउनुभयो ।
एकीकृत घुम्ती शिविरमार्फत नागरिकतासहित सबै किसिमको सिफारिससम्बन्धी सेवा प्रवाह हुने छ । त्यस्तै लाभग्राहीलाई सामाजिक सुरक्षा भत्ता वितरण, निःशुल्क स्वास्थ्य परीक्षण तथा औषधी वितरण पनि शिविरमा हुने छ । रेविजबिरुद्धको खोप र पशुपन्छीका लागि औषधी वितरण शिविरमा हुने पालिकाले जनाएको छ ।
किसानलाई बोट बिरुवामा लाग्ने रोग कीरा नियन्त्रण गर्ने औषधी तथा जैविक विषादी वितरण, मौसमअनुसार तरकारी बालीको बिऊबिजन वितरण गरिने छ । घुम्ती शिविरमा योजना सम्झौता, व्यवसाय दर्ता, नवीकरण र विभिन्न १२ वटा शाखाको उद्देश्यअनुसार परामर्श, राय सल्लाहसहित आवश्यक सेवा प्रवाह हुने पालिकाले जनाएको छ ।
गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमका अनुसार पालिकावसी जनतालाई घर आँगनबाटै सेवा प्रवाह गर्ने सुरुदेखिकै योजनाको निरन्तरतास्वरुप घुम्ती शिविर आयोजना गरिएको हो । सदा झैं यसपटकको घुम्ती शिविरमा सहभागी भएर सेवा तथा लाभ प्राप्त गर्नका लागि पालिकावासीलाई अध्यक्ष वनेमले आग्रह गर्नुभएको छ । यस्तै घुम्ती शिविरसँगै सार्वजनिक सुनुवाइका कार्यक्रमसमेत आयोजना गरिएको गाउँपालिकाले जनाएको छ ।