ताप्लेजुङमा सांस्कृतिक सम्पदा प्रर्वद्धनमा युवा परियोजना सञ्चालन हुने,तीनबर्षको बजेट साढे १० करोड रुपैयाँ
खगेन्द्र अधिकारी
ताप्लेजुङ,बैशाख १६ । ताप्लेजुङमा सांस्कृतिक सम्पदा प्रर्वद्धनमा युवा परियोजना सञ्चालन हुने भएको छ । युरोपियन युनियन दातृ संस्था रहेको परियोजना तीनबर्षको हुुने छ । बुधवार फुङलिङमा परियोजनाका बारेमा जानकारी गराईएको हो ।
समृद्ध पहाड परियोजना अन्तरगत प्राकृतिक सम्पदा प्रर्वद्धनमा युवा परियोजनाका व्यवस्थापक प्रतिक देवकोटाका अनुसार परियोजनाको मुख्य सेवा क्षेत्र साँस्कृतिक सम्पदाको प्रर्वद्धन,उद्यम विकास,वातावरणीय सचेतना तथा जलवायु परिवर्तन,युवा केन्द्रित पर्यटन पहल,फोहोर व्यवस्थापन र पर्यटन पूर्वाधार रहनेछन् । सन् २०२६ मार्च १ देखि २०२९ फेब्रोअरी २८ सम्म परियोजना सञ्चालन हुने छ । परियोजनाको मुख्य क्षेत्र कञ्चनजंघा संरक्षण क्षेत्र अन्तरगत फक्ताङलुङ गाउँपालिका वडा नं ५ तापेथोक,६ लेलेप र ७ ओलाङचुङगोला तथा सिरिजङ्गा गाउँपालिका वडा नं ८ याम्फुदिन रहने देवकोटाले जानकारी दिनुभयो । मुख्य कार्यक्रम क्षेत्रका करिव ४ हजार नागरिकलाई प्रत्यक्ष वा अप्रत्यक्ष लाभ पुर्याउने लक्ष्य लिएको छ ।
परियोजनामार्फत ४० भन्दा बढी सम्पदा जिडिटलाइन भएको,५ युवा परिषद् र कम्तिमा १ युवा साँस्कृतिक मञ्च गठन भई युवा शासन संरचना स्थापित गर्ने लक्ष्य लिईएको छ । यस्तै सम्पदा र स्टोरीटेलिङका क्रममा कम्तिमा २ सय युवालाई क्षमता विकासमा प्रशिक्षित गरिने,कम्तिमा ८ सय ५० जना समुदाय सदस्य सहभागी हुने,८ वटा स्थानीय मौलिक साँस्कृतिक पर्व तथा महोत्सव सम्पन्न गरिने,कम्तिमा ६० जना युवालाई सीप प्रयोग गरी आम्दानी गर्न योग्य बनाईने,कम्तिमा २ वटा प्रमुख सामुदायिक पूर्वाधारको निर्माण गरिने,स्थायी रुपमा सञ्चालनमा रहेका उद्यमको प्रतिशत कम्तिमा ८० पुर्याउने र युवा उद्यम अन्तरगत कम्तिमा १० उद्यम दर्ता र सञ्चालनमा रहेको अवस्था पुर्याउने गरी परियोजनाले परिमाणात्मक उपलब्धीको लक्ष्य लिएको छ । परियोजनामार्फत नेपाल सरकारको १६ औं योजनामा उल्लेखित पर्यटन विकास सम्वन्धी नीति,योजना तथा कार्यक्रम,सेवा क्षेत्रका फक्ताङलुङ र सिरिजङ्गा गाउँपालिकाले तयार पारेका नीति र कार्यक्रमलाई सघाउ पुग्ने कार्यक्रमहरु तय र कार्यान्वयन गरिने समेत परियोजना सुरुवातका बारेमा जानकारी दिन आयोजित कार्यक्रममार्फत बताईएको छ ।
परियोजना व्यवस्थापक देवकोटाका अनुसार स्थानीय पर्यटन व्यवसायी,पर्यटन सेवा प्रदायक निकाय,पर्यटन सरोकारवाला संघसंस्था,स्थानीय स्तरमा क्रियाशिल सहकारी संस्था र तीनका सदस्य,कञ्चनजंघा संरक्षण क्षेत्रमा बस्ने स्थानीय समुदाय,लघु साना,घरेलु साथै मझौला पर्यटन उद्यमी तथा व्यवसायीहरु,साँस्कृतिक सम्पदामा संरक्षण र प्रवद्र्धनमा सक्रिय समुदाय र युवा अगुवा परियोजनाका लक्षित समूह हुनेछन् । परियोजनामार्फत सम्पदा तत्वहरुको नक्साङ्कन र अभिलेखीकरण,डिजिटल प्लेटफर्मको स्थापना र सञ्चालन,युवाहरुका लागि जिडिटल कथा वाचन तथा अभिलेखीकरण कार्यशाला,युवा परिषद् र युवा संस्कृति मञ्चको गठन तथा सुद्रिढीकरण,अभिभावक तथा बिद्यार्थीका लागि सचेतना कार्यक्रम,साँस्कृतिक महोत्सव तथा सृजनात्मक प्रस्तुतीको आयोजना,समूहमा आधारित उद्यम प्रर्वद्धन कार्यक्रम सञ्चालन हुनेछन् । यसबाहेक संस्कृति संर्वद्धनसंग सम्वन्धित उद्यम सञ्चालन र पर्यटन प्रर्वद्धन गर्ने वस्तु उत्पादनका लागि उपभोक्ता समिति वा समूहको क्षमता अभिबृद्धि कार्यक्रम,सृजनात्मक बजार र मेला तथा छोटो अवधिका साँस्कृतिक तथा व्यावसायिक कार्यक्रम,विशिष्टकृत प्राविधिक र सृजनात्मक सीप तालिम तथा पर्यटक सहयोगी(भरिया)हरुका लागि तालिम तथा पर्यटन कल्याण केन्द्रको स्थापना समेत परियोजनामार्फत क्रियाकलाप सञ्चालन हुने देवकोटाले बताउनुभयो ।
समुदायको क्षमता अभिबृद्धि गरी दिगो आर्थिक विकासमा सहयोग गर्न,प्रविधिको प्रयोगमार्फत साँस्कृतिक सम्पदाको अभिलेख व्यवस्थापन साथै पर्यटन विकासमा टेवा पुर्याउन,युवालाई साँस्कृतिक सम्पदा संरक्षक र नवप्रर्वतकको रुपमा सशक्त बनाउँदै संरक्षण संगै रोजगारीको नयाँ अवसर सृजना गर्न,समावेशी शासन,सीप विकास र उद्यमशलिता विकास गर्न र समावेशी विकासलाई प्रर्वद्धन गर्न परियोजना अग्रसर हुने भएको छ । देवकोटाका अनुसार परियोजनाको कुल बजेट(तीनबर्षको)१० करोड ५१ लाख ३८ हजार ८ सय ७२ रुपैयाँ रहेको छ । यसमध्ये कार्यक्रमको बजेट ८ करोड ५५ लाख ५२ हजार ३ सय १३ रुपैयाँ र प्रशासनिक बजेट १ करोड ९५ लाख ८७ हजार ५ सय ५९ रुपैयाँ रहने छ । यसैबिच परियोजनाका बारेमा जानकारी दिन आयोजित कार्यक्रममा परियोजनाको सेवा क्षेत्रमा ताप्लेजुङको पाथीभरा क्षेत्र सदरमुकामका होटल व्यवसायी र रेडपाण्डा संरक्षण अभियानको कार्यक्षेत्रका नागरिकलाई समेत समेट्न सरोकारवालाले आग्रह गर्नु भएको छ । कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख छिरिङ लामा,प्रमुख जिल्ला अधिकारी शिवराज सेढाइँ,कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का अध्यक्ष खगेन्द्र फेम्बु लिम्बू सहितले परियोजनाका विविध पक्ष र आयाम बारे चर्चा गर्दै परियोजनालाई सफलताको शुभकामना दिनु भएको थियो ।