पछिल्लो एक बर्षमा ताप्लेजुङमा ५३ वटा मानव अधिकार उल्लंघनका घटना,५४ प्रतिशत पीडित महिला
खगेन्द्र अधिकारी
ताप्लेजुङ,मंसिर २४ । पछिल्लो एकबर्षे अवधिमा ताप्लेजुङमा मानव अधिकार उल्लंघन सम्वन्धी ५३ वटा घटना भएको अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक)ले जनाएको छ ।
इन्सेक ताप्लेजुङका जिल्ला प्रतिनिधि एलिना दियालीले बुधवार २०८१ साल पुस १६ देखि २०८२ मंसिर २४ गतेसम्म यहाँ भएका मानव अधिकारसंग सम्वन्धित घटनाका बारेमा बार्षिक समिक्षा प्रस्तुत गर्नु भएको हो । दियालीका अनुसार ५३ वटा घटनामध्ये झण्डै ५४ प्रतिशत घटनामा महिला पीडित भएका छन् । दियालीका अनुसार ५३ मध्ये २९ वटा घटनामा महिला पीडित भएको देखिएको छ । घटनाबाट १४ पुरुष र ७ बालिका पीडित भएको इन्सेकले आफ्नो विवरणमा प्रस्तुत गरेको छ । इन्सेकका अनुसार मानव अधिकार उल्लंघनका घटनामा १३ बर्षिया बालिका देखि ७२ बर्षिय जेष्ठ नागरिकसम्म पीडित भएका छन् ।
इन्सेकले ताप्लेजुङ जिल्लामा महिला कारगार,बाल सुधार र सुरक्षित आवास कक्ष नहुँदा हिंसामा परेका महिला तथा बालबिज्याँईमा परेका बालबालिकालाई सुधार तथा संरक्षणका लागि जिल्ला बाहिर पठाउनु परेको दुःखद् अवस्थाको अन्त्य हुनुपर्ने औंल्याएको छ । पुर्नस्थापना केन्द्र निर्माणको दीर्घकालिन योजना नबनाउने हो भने यस्ता सुधार तथा संरक्षणका कार्यमा थप गतिरोध आउनसक्नेतर्फ इन्सेकले सचेत समेत गराएको छ । ताप्लेजुङमा महिला तथा बालबालिकाहरु आफ्नै छिमेकी,नातेदार,आफन्त र चिनजानकै व्यक्तिबाट बलत्कार तथा यौन दुर्व्यवहारमा परिरहनु परेको इन्सेकको विश्लेषण छ ।
गमबुटको निहुँमा दाईले भाईको हत्या गर्नु र खैनीको निहुँमा श्रीमानले श्रीमतिको हत्या गर्नुजस्ता आवेशप्रति घटना हुने गरेको भन्दै इन्सेकले यस्ता घटनाको न्यूनीकरणमा सचेतनाको खाँचो देखेको छ । विद्युतीय तारबारको उचित व्यवस्थापनको अभावमा बिद्युतीय तार लत्रिएर मानिसको ज्यान जाने गरेको घटनाप्रति इन्सेकले विद्युत प्राधिकरण र सम्वद्ध निकायको ध्यानाकर्षण गरेको छ । सेफ्टी ट्याङ्की जस्ता खाडल प्रकृतिका पूर्वाधार निर्माणको समयमै व्यवस्थापन र उचित सुरक्षा नगर्दा खाडलमा डुबेर बालबालिकाको ज्यान ज्याने गरेका घटनाप्रति संकेत गर्दै इन्सेकले यस्ता कार्यहरुमा लापरवाही गर्न नहुनेमा जोड दिएको छ । नेपाल–चीनको स्वशासित क्षेत्र तिब्बतको सीमा नाका टिपताला भञ्ज्याङ सञ्चालन,सिमापास परिचयपत्र बितरण,ओलाङचुङगोला मूल भन्सार कार्यालय सञ्चालनमा समेत सरकारले कुटनीतिक पहल र सहजीकरण गर्नुपर्ने इन्सेकले बताएको छ ।
मानव तस्करीकै झल्को दिने भारत उत्तराखण्डको रुद्रपुर घटनामा मानिसको ज्यान जानुपर्ने अवस्था र त्यहाँ अलपत्र करिव ६ सय मानिसको उद्धारका लागि गरिएको प्रहरी पहलको इन्सेकले स्वागत गरेको छ । सन् २०२५ को डिसेम्बर १ देखि सोहि बर्षको डिसेम्बर ९ सम्म भएका मानवसंग सम्वन्धित घटनाको अभिलेखीकरण गरी सरोकारवालाको राय सुझाव समेत लिएर इन्सेकले प्रकाशित गर्ने मानव अधिकार बर्ष पुस्तक २०२६ का सन्दर्भमा इन्सेक ताप्लेजुङले बार्षिक समिक्षामार्फत राय सुझाव संकलन गरेको हो । संकलित राय सुझाव समेत समेटर ताप्लेजुङ जिल्लाको मानव अधिकारका बिषयलाई अन्तिम अभिलेखीकरण गरी पुस्तक प्रकाशनका लागि सामग्री ग्राह्य बनाउने इन्सेक जिल्ला प्रतिनिधि दियालीले बताउनुभयो । कार्यक्रममा फुङलिङ नगरप्रमुख भीमादेवी ओझा,प्रमुख जिल्ला अधिकारी शिवराज सेढाईँ,जिल्ला प्रहरी प्रमुख(डिएसपी)बेदप्रसाद गौतम सहितको उपस्थिति रहेको थियो ।